फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।

बुधबार बसेको राष्ट्रियसभाको बैठकमा कांग्रेसले डाक्टर केसीले उठाएको माग सम्बोधन गरी उनको जीवनरक्षा गर्नुपर्ने, तरुण दलको प्रर्दशनमा भएको प्रहरी धरपकडबारे गृहमन्त्रीको जवाफ र बंगलादेशमा अध्ययनरत नेपाली छात्राको अपमान हुने गरि अभिव्यक्ति दिएका दुर्गा प्रसाईलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो।

बैठक सुरु हुनासाथ अध्यक्षसंग समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले २६ औँ दिनसम्म अनसनमा बस्नुभएका डाक्टर गोविन्द केसीको माग सम्बोधन, राजधानीमा तरुणदलको प्रर्दशनमा भएको प्रहरी दमनबारे गृहमन्त्रीको जवाफ, प्रसाईमाथि कानुनी कारवाही लगायतका माग पुरा नहुन्जेल बैठक चल्न नसक्ने बताए। सांसद पाण्डेले बोलिसकेपछि कांग्रेस सांसदहरुले उभिएर सदनको कामकारबाही चल्न नदिएका हुन्।

कांग्रेसका सदस्यहरुले उभिएर विरोध जनाईरहेपछि अध्यक्ष तिमिल्सिनाले साउन १६ गते बुधबार ११ बजे सम्मका लागि बैठक स्थगित गरे।

त्यसअघि अध्यक्ष तिमिल्सिनाले सरकारका मन्त्रीहरुलाई समयमै बैठकमा उपस्थित हुनका लागि ध्यानाकर्षण गराएका थिए। आजको बैठकमा विषयगत समिति गठन गर्ने कार्यतालिका थियो।

राष्ट्रियसभाको मंगलबारको बैठक पनि कांग्रेसको विरोधका कारण अवरुद्ध भएको थियो।