नेपाल-बंगलादेश सम्बन्ध, पार्टी र सरकारको छविमा असर पुर्‍याएको निचाेड

कानुनमन्त्री शेरबहादुर तामाङ
बंगलादेशमा अध्ययनरत नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्ति दिने कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पदमुक्त गरेका छन्।

नेपाली छात्राबारे आपत्तिजनक अभिव्यक्तिप्रति असन्तुष्ट प्रधानमन्त्रीले मन्त्री तामाङलाई पदमुक्त गरेको नेकपा स्रोतले बतायो। पद त्याग गर्न पार्टीकाे निर्देशन अाएसँगै तामाङले पत्रकार सम्मेलन गरी राजीनामा बुझाउने तयारी गरेका छन्। उनले दिउँसाे २ बजे मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा प्रक्रिया अघि बढाउँदैछन्।

‘प्रधानमन्त्री एवं पार्टी अध्यक्षले नेकपा अन्य नेताहरूसँग छलफल गरी साेमबार राति राजिनामा दिन निर्देशन दिनुभएकाे छ’, नेकपा स्राेतले नेपालखबरसँग भन्याे। साेमबार राति बालुवाटारमा डा.गाेविन्द केसीका मागबारे छलफल गर्न नेकपाका शीर्ष नेताकाे बैठक बसेकाे थियाे। बैठकले कानुनमन्त्रीकाे अभिव्यक्तिले नेपाल-बंगलादेश सम्बन्धमा नकारात्मक असर पुर्याएकाे, सरकार र पार्टीकाे छवि धुमिल बनाएकाे निष्कर्ष निकाल्दै राजीनामा दिन निर्देशन दिएकाे स्राेतले बतायाे।

पार्टीकै महिला नेतृहरूले समेत मन्त्रीकाे अभिव्यक्तिप्रति अध्यक्षद्वय केपी शर्मा अाेली र पुष्पकमल दाहाललार्इ सम्पर्क गरी अापत्ति जनाएका थिए।

नेपालमा थप मेडिकल कलेज खोल्नपर्छ भन्ने आफ्नो मतलाई जबर्जस्ती पुष्टि गर्न मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुले सर्टिफिकेट पाउन अस्मिता बेच्न बाध्य रहेकाे सार्वजनिक अभिव्यक्ति दिएका थिए। उनले चिकित्सा शिक्षा अध्ययनका लागि नेपालमा मेडिकल कलेज थाेरै भएकाले सिट नपाइने र बंगलादेश जाने चेलीले शरीर सुम्पिएपछि मात्र सर्टिफिकेट पाउने स्थिति रहेकाे उल्लेख गरेका थिए।

‘बंगलादेशमा हाम्रा छोरी/चेलीहरु डाक्टर पढ्न जानुहुन्छ भने डाक्टरको सर्टिफिकेट लिनको लागि उसले कहीँ न कहीँ आफूलाई बेच्नैपर्छ। …मैले सुनेको छु उनीहरुले त्यहाँ आफूलाई नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन’, उनले भनेका थिए।

बंगलादेशबाट चिकित्सक शिक्षा अध्ययन गरेका नेपाली महिला चिकित्सक र सर्वसाधारणले सरकारका जिम्मेवार मन्त्रीको साे अभिव्यक्ति खेदपूर्ण रहेको भन्दै राजीनामा माग गरेका थिए। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेताले समेत कानुनमन्त्रीकेा अभिव्यक्तिकाे अालाेचना गर्दै यसप्रति सरकार गम्भीर हुनुपर्ने उल्लेख गरेका थिए। नागरिक समाजका केही अगुवाले मन्त्री तामाङको भनार्इ उल्लेख गरी बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालार्इ इमेल लेख्दै जवाफ माग गर्न थालेपछि दुर्इ देशबीचकाे सम्बन्धमै नराम्राे असर पर्ने स्थिति पैदा भएकाे थियाे।

मन्त्री तामाङले दिउँसो २ बजे पत्रकार सम्मेलनबाट सबै कुरा सार्वजनिक गर्ने बताए। ‘२ बजे पत्रकार सम्मेलन हाे, त्यहाँ कानूनकाे ब्रिफिङ हुन्छ। त्यहाँ त्यस्ताे कुरा उठयाे भने राजीनामा गर्ने/नगर्ने थाह हुन्छ’, उनले भने।