जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीलाई सरकारले बलपूर्वक काठमाडौं ल्याउने क्रममा भएको घटना छानबिन गर्न डिआइजी नेतृत्वको टोली जुम्ला पुगको छ

नेपाल प्रहरीका डीआईजी सुरेन्द्रविक्रम शाह, एसपी केदार रजौरे र डीएसपी चूडामणि बुढाथोकीको तीन सदस्यीय टोली गत बिहीबार भएको घटना छानबिन गर्न घटनास्थल पुगेको हो।

गत बिहीबार डा. केसीलाई काठमाडौं ल्याउन खोज्दा विद्यार्थी, स्थानीय बासिन्दा र प्रहरीबीच झडप भएको थियो। त्यस क्रममा २४ जनाभन्दा बढी घाइते भएका थिए।

घटनामा तीन प्रहरी पनि घाइते भएका थिए। एक प्रहरी गोली लागेर गम्भीर घाइते भएका थिए। उनको काठमाडौंमा अहिले पनि उपचार जारी छ। घटनाका कारण अस्पतालका भौतिक संरचनामा समेत क्षति पुगेको छ।

अस्पतालका चिकित्सक र कर्मचारीहरूले पनि घटनाको छानबिन गरी दोषीलाई कारवाही गर्न माग गर्दै आएका छन्।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रहरीले गोली चलाएको भन्दै आलोचना भइरहेको छ भने प्रहरीले भने गोली नचलाएको दाबी गर्दै आएको छ।