६ साउन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राणा र पञ्चायतविरुद्ध लडेका प्रजातन्त्रवादीहरू कम्युनिस्टविरुद्ध लड्न तयार रहेको बताएका छन् । ३६ औँ वीपी स्मृति दिवसका अवसरमा आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको कार्यक्रममा देउवाले सरकार एकदलीय सर्वसत्तावाद लाद्न खोजिरहेको दावी गर्दै त्यसविरुद्ध लड्न आफूहरू तयार रहेको बताए ।

‘राणा शासन र पञ्चायती व्यवस्थाविरुद्ध लडेका हामीहरू कम्युनिस्टसँग लड्न परे लड्छौँ’, पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले भने ।

शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकार मानिसको नैसर्गिक अधिकार भएकोमा वर्तमान सरकारले निषेधित क्षेत्रहरू तोकेर मानिसको विरोध गर्न पाउने अधिकार हनन गरेको उनले बताए ।

‘वीपी भन्नुहुन्थ्यो– कम्युनिस्टहरू प्रजातन्त्रवादी हुँदैनन्, उहाँले पहिला नै कम्युनिस्टहरूलाई चिन्नुभएको रहेछ, हामी बल्ल चिन्दैछौँ’, सभापति देउवाले भने, ‘यो मानअधिकारविरोधी सरकार हो, निरंकुशता र एकदलीय सर्वसत्तावाद लाद्न खोजिरहेको छ ।’

देउवाले कम्युनिस्टहरू ‘सच्चा मानेमा प्रजातन्त्रवादी नभएको पुष्टि भएको’ दावी गर्दै उनीहरूले भावी दिनमा ‘बोल्न र लेख्न समेत नदिने’ दावी गरे।

सुशील कोइराला प्रधानमन्त्री छँदा गठित माथेमा कार्यदलले बनाएको प्रतिवेदनअनुसार स्वास्थ्य शिक्षा विधेयक ल्याउनुपर्नेमा सरकारले आफूअनुकूल अध्यादेश ल्याएको बताए । ‘गोविन्द केसीका जयज मागमा हाम्रो समर्थन छ । उहाँका माग पूरा गर्नुपर्छ र उहाँलाई बचाउनुपर्छ’, उनले भने ।