पञ्चकन्या माई हाइड्रोपावरको आइपीओमा १ लाख ४५ हजार जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले शुक्रबार कार्यालय समयसम्म यो आइपीओमा १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ताका लागि आवेदन परेको बताए । यो आवेदन माग भन्दा ९.९९ गुणा धेरै हो ।

यसमा अझै आवेदक संख्या र कित्ता बढ्नेछ, अनलाइनबाट आवेदन दिने व्यवस्था रहेको हुनाले विभिन्न बैंक तथा वित्तीय संंस्थाबाट अझै अन्तिम डाटा आउन बाँकी रहेको श्रेष्ठले नेपाली पैसालाई बताए । पञ्चकन्याको आइपीओमा माग भन्दा धेरै आवेदन परेपछि शुक्रबार (साउन ४ गते) नै यसको बिक्री बन्द भएको छ ।

पञ्चकन्या माई हाइड्रोपावरले साउन १ गतेदेखि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ४४ हजार (४%) कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता (५%) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

पञ्चकन्याले यसअघि इलाम जिल्लाका स्थानीय बासिन्दाका लागि ११ लाख कित्ता आइपीओ निष्कासन गरिसकेको छ । पञ्चकन्याको हाल जारी पुँजी १ अर्ब १० करोड रुपैयाँ र चुक्ता पुँजी ९९ करोड रुपैयाँ छ । कम्पनीले इलाम जिल्लामा १२ मेगावाटको अपर माई जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यसैगरी, ६.१ मेगावाटको अपर माई ‘सी’ आयोजना पनि निर्माणाधीन छ ।