सिटिजन्स बैंकले गत आर्थिक वर्ष ०७४/०७५ मा खुदनाफा ३० प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्षमा बैंकले नाफा बढाएर १ अर्ब ४० करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खदनाफा १ अर्ब ८ करोड १६ लाख रुपैयाँ थियो ।
सिटिजन्सको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा सुधार भएपछि खुद नाफा पनि बढेको हो । अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी १८.७६% वृद्धि भएर २ अर्ब ८ करोड ६७ लाख २६ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा पनि १ अर्ब ६९ करोड ७५ लाख ४२ हजार रुपैयाँ पुर्याएको छ । अघिल्लो आवको तुलनामा सञ्चालन नाफा ६३.८१% धेरै हो ।
बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा निक्षेप तथा कर्जा विस्तार प्रक्षेपण गरेअनुसार रहेको जानकारी दिएको छ । ब्याज खर्चमा केही वृद्धि भए पनि नाफा सन्तोषजनक रहेको बैंकले जानकारी दिएको छ ।
यसले खराब कर्जा अनुपात २.०२% बाट घटाएर १.२५% मा सीमित राखेको छ । यो बैंकको कस्ट अफ फन्ड भने बढेर ८.४५% पुगेको छ । गत वर्ष कस्ट अफ फन्ड ८% थियो । सिटिजन्सले चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भमा भने २ अर्ब ७६ करोड ८० लाख ९३ हजार रुपैयाँ मात्र जम्मा भएको छ ।
सिटिजन्सले ४ लाख ६३ हजार ८२६ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । प्रतिकित्ता २०० रुपैयाँ दरमा एफपीओ बिक्री गर्न लागेको हो । एफपीओपछि पुँजी झन माथि जानेछ ।