२०६२ को नागरिक आन्दोलनको स्मरण गर्दै पहाडीले दिए सरकारलाई यस्तो चेतावनी

मानव अधिकारकर्मी कृष्ण पहाडीले केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै बदनाम सरकार भएको आरोप लगाएका छन्।

शनिबार अनसनरत डा. गोविन्द केसीको समर्थनमा भएको प्रदर्शपछि आयाेजित सभालाई बानेश्वरमा सम्बोधन गर्दै पहाडीले मतमा यो सरकार दुईतिहाइ भए पनि सबैभन्दा बदनाम सरकार भएकेो दावी गरे।

डा. गोविन्द केसीको समर्थमा भएको प्रदर्शनलाई दोस्रो जनआन्दोलन अघिको नागरिक आन्दोलनसँग तुलना गर्दै पहाडीले त्यसको परिणाम सम्झन सरकारलाई चेतावनी दिएका छन्।

‘२०६२ फागुन १२ गते तत्कालीन सत्तालाई चुनौति दिँदै निषेधाज्ञालाई तोड्दै नागरिक आन्दोलनको जन्म भएको थियो र पहिलो चरणमा केही गिरफ्तारीहरु भएको थियो। त्यसमा नगरिक आन्दोलनका अगुवाहरु पक्राउ परेका थिए’, उनले भने, ‘हाम्रो मित्र गगन थापाहरु पक्राउ पर्नुभएको थियो। त्यहीबाट नयाँ आन्दोलनको सूत्रपात भएको थियो। त्यसको परिणाम आज देखिएको छ।’

डा. केसीको सत्याग्रहको पक्षमा भएको समर्थन सामूहिक गिरफ्तारी र सामूहिक सत्याग्रहसम्म पुग्न सक्ने उनले चेतावनी दिए।

डा. गोविन्द केसी नेपाल राष्ट्रकै सम्पत्ति भएको भन्दै उनले ओली र प्रचण्ड सत्ताको भूलभुलैयामा अल्मिलिँदा मृत्युशैय्यामा पुगेको उनको भनाइ थियो। 

वर्तमान सरकार लोकतन्त्र, सूचना प्रविधि, विधिको शासन र स्वाभिमानको विरुद्धमा रहेको उनले आरोप लगाए।

संविधानविपरीत उपसभमुख पनि ओगटेर बस्ने, अदालतले दोर्ष र अपराधी कारर गरेकालाई कैद मिनहा गर्ने, इन्टरनेटको मूल्य बढाउने जस्ता कामले सरकार जनताकाे पक्षमा नभएको प्रस्ट पारेको उनको भनाइ थियो।

समावेशिता आली र प्रचण्डले नल्याएको र त्यो आन्दोलनको बलमा प्राप्त भएको उनको दावी थियो।