पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपिओ) मा साढे ६ गुणा बढी आवेदन परेको छ । कम्पनीले साउन १ गतेदेखि कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणका लागि १० लाख एक हजार कित्ता सेयर निष्काशन गरेकोमा तीन दिनमा सो परिमाणमा आवेदन परेको हो ।

पञ्चकन्या माई हाइड्रोपावरले साउन १ गतेदेखि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ४४ हजार (४%) कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता (५%) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो ।

पञ्चकन्याको आइपीओ भर्ने आज अन्तिम दिन हो । आवश्यक भन्दा धेरै संख्यामा आवेदन परेकाले शुक्रबार नै आइपीओ बिक्री बन्द हुने देखिन्छ । कम्पनीले साउन ४ गतेसम्म उचित मात्रमा आवेदन नपरेको खण्डमा भने साउन १५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

यसमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार ५०० कित्तासम्म आवेदन दिन सकिनेछ । पञ्चकन्याले यसअघि इलाम जिल्लाको स्थानीय बासिन्दाका लागि ११ लाख कित्ता आइपीओ निष्कासन गरिसकेको छ । कम्पनीले क्रेडिट रेटिङ ४ पाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड कमलपोखरी काठमाडौं तथा पञ्चकन्याको ललितपुर महानगरपालिका, वडा नं ३ पुल्चोकबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, आस्वा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट भर्न सकिनेछ । सी–आस्वाबाट घरमै बसेर पनि भर्न मिल्नेछ ।