पोखरा, ३ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गरेका छन् ।

पोखरा लेखनाथ महानगरपालिका– १४ स्थित अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्दै प्रधानमन्त्रीले परियोजनाबारे जानकारी लिए । उनले अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई तीब्रता दिन पनि निर्देशन दिए । ‘सरकारले के कस्तो सहयोग गर्नुपर्छ, सकारात्मक भएर सहयोग गर्छ’ उनले भने, ‘स्थानीय र प्रादेशिक सरकारसँग समन्वय गरेर काम गर्नुहोस् ।’

भविष्यमा जग्गा साँघुरो हुने तर्फ संकेत गर्दै प्रधानमन्त्रीले अहिले नै जग्गा प्राप्तीको तयारी गर्नसमेत निर्देशन दिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२१ जुलाईबाट उडान सुरु गर्ने गरी तयारी भइरहेको छ । प्रधानमन्त्री ओलीले आफ्नो पहिलो कार्यकालमा ७३ वैशाख १ गते विमानस्थल उदघाटन गरेका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलगायतको उपस्थिति थियो ।