अनसनरत चिकित्सक डा. गोविन्द केसीले आफूलाई जवरजस्ती काठमाडौं नलैजान चेतावनी दिएका छन् । सरकारले आजै केसीलाई जुम्लाबाट काठमाडौं लैजाने तयारी गरेपछि केसीको यस्तो प्रतिक्रिया आएको हो ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २० दिनदेखि सत्याग्रह जारी राखेका केसीले आफ्नो माग पूरा नभएसम्म जुम्ला नछाड्ने अडान लिदै आएका छन् । आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने बताउँदै उनले सरकारलाई गम्भीर बन्न आग्रह समेत गरेका छन् ।

आफूले चन्दननाथ बाबाको काखमा बसेर अनशन गरेको बताउँदै सरकारलाई स्वास्थ्य क्षेत्रको सुधारमा लाग्न सुझाव दिदै आफूलाई जवरजस्ती गरे परिणामा राम्रो नआउने चेतावनी दिएका छन् ।

केसीले सरकारले जायज माग पुरा गर्नुभन्दा आफ्नो अपहरण गरेर समस्याको समाधान खोजेको आरोप समेत लगाएका छन् ।

उनको गम्भीर स्वास्थ्यप्रति ख्याल राख्दै सरकारले हेलिकोप्टरबाट काठमाडौँ ल्याउने तयारी गरेपछि अनसनस्थलमा स्थानीय समर्थक र अभियानका समर्थकहरुसँग कुरा गर्दै डा केसीले यस्तो आरोप लगाएको बुझिएको हो ।

‘मलाई अपहरण गरेर सरकारले चिकित्सा शिक्षामा सुधारका लागि गरिएको अभियान तुहाउन खोजिरहेको छ’ डा केसीले भने, ‘यदि मेरो स्वास्थ्यप्रति सरकार चिन्तित र सम्वेदनशील छ भने मैले राखेका मागहरु पुरा गरियोस् ।’