भारतभन्दा नेपालमा डिजेल २६, पेट्राेल २३ रूपैयाँ सस्ताे

भारतीय आयल कर्पोरेशन (आइओसी)ले पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएपछि नेपाल आयन निगमको घाटा बढेको छ।

आइओसीले मूल्य बढाएर पठाए पनि निगमले ग्यास, पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य यथावत राखेकाले घाटा बढेको हो।

आइओसीको नयाँ मूल्यअनुसार जुलाई महिनाको १५ दिनमा २५ करोड रुपैयाँ घाटा थपिने निगम प्रवक्ता वीरेन्द्र गोइतले नेपालखबरलाई बताए। पछिल्लो बजार मूल्यअनुसार निगमलाई १५ दिनमा २५ करोड रुपैयाँ घाटा छ।

पछिल्लो समय निगमलाई पेट्रोलमा प्रतिलिटर ५२ पैसा घाटा छ। यस्तै, डिजेलमा प्रतिलिटर २ रुपैयाँ ९० पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ३३ रुपैयाँ ९० पैसा घाटा छ।

पछिल्ला केही दिनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा देखिएको महँगीले नयाँ मूल्य समायोजनबारे छलफल भइरहेको गोइतले बताए। भारतले हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाउँदा सीमापारिको भारतीय बजार रक्सौलभन्दा नेपालमा पेट्रोल प्रतिलिटर २३ रुपैयाँ ६९ पैसा र डिजेल प्रतिलिटर २६ रुपैयाँ सस्तो रहेको निगमले जनाएको छ।

पछिल्लो मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय १० रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँमा बिक्री भइरहेको छ।

प्रतिलिसिन्डर ग्यासको उपभोक्ता मूल्य हाल १ हजार सय ३७५ रुपैयाँ छ। आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर १ दशमलब ७ अमेरिकी डलर छ।