पार्टी एकीकरणपछि ‘पिँजडाको बाघ’ बनेका प्रचण्ड आफैँ अग्रसर भएर कुनै प्रकारको चलखेल गर्न नसकिने स्थितिमा पुगेपछि उनले वामदेव गौतमलाई संसदमा प्रवेश गराएर नयाँ खेल शुरु गर्न लागेको थप जानकारी घटना र विचारलाई प्राप्त भएको छ । हरेक हप्ता केही न केही विवादास्पद अभिव्यक्ति दिएर राजनीतिक तलाउलाई कहिल्यै स्थिर र शान्त हुन नदिने प्रचण्ड पार्टी एकतापछि प्रायः ‘ठण्डा’ देखिएका छन् ।

‘एमाले अनुशासन’को जन्जिरमा बाँधिएका प्रचण्डमा आफ्नो भविष्यलाई लिएर बेग्लै छटपटी भएको उनका निकटवर्तीहरूले ठानेका छन् । प्रचण्डको पोजिसन यतिबेला त्यस्तो देखिएको छ जस्तो सिकारमाथि जाइलाग्नुअघि बाघको हुन्छ । प्रचण्ड र केपी ओलीबीच विशेष सम्झौता भएर पार्टी एकता भएको भए पनि दुवै नेताहरू एक–अर्काप्रति विश्वस्त हुन सकेका छैनन् । अचेल मौका मिल्नेबित्तिकै प्रचण्डले प्रधानमन्त्री ओलीको आलोचना गर्ने गरेका छन् । उनले अरू केही महिना सरकारका बारेमा कुनै टीका–टिप्पणी नगर्ने बताउने गरेका छन् ।

तर, सरकारको काम ठीक नभएको भन्दै उनले असन्तुष्टि भने प्रकट गर्ने गरेका छन् । केपीपछिको पार्टी अध्यक्षका रूपमा हेरिएका वरिष्ठ नेता माधवकुमार नेपालको समर्थन एवम् सहयोग प्रचण्डलाई प्राप्त हुन सक्नेमा शङ्का बढ्दो छ । त्यसैले नेपाल र प्रचण्डबीच पनि विश्वासको सङ्कट छ । पार्टी प्रवक्तासमेत रहेका नेता नारायणकाजी श्रेष्ठको भूमिका प्रचण्डलाई बलियो बनाउनेभन्दा पार्टी एकतालाई सुदृढ बनाउनेमा केन्द्रित रहेको देखिन्छ । श्रेष्ठ गत संसदीय निर्वाचनमा गोरखा (१) बाट पराजित हुनुमा प्रचण्डको अपेक्षित सहयोग नहुनुलाई पनि मानिन्छ । त्यसैले प्रचण्ड नारायणकाजी श्रेष्ठमाथि भर पर्न सक्ने अवस्थामा अहिले छैनन् ।

कृष्णबहादुर महरा सभामुख रहेकोले उनी पार्टी राजनीतिमा सक्रिय रहन सक्ने अवस्थामा रहेनन् । महासचिव विष्णु पौडेलमाथि पनि प्रचण्ड ढुक्क नरहेको बुझिन्छ । ईश्वर पोखरेलसँग चिसिएको सम्बन्ध प्रचण्डले चाहेकै भरमा न्यानो बन्ने स्थिति छैन । सुरेन्द्र पाण्डेको शालीनता प्रचण्डका निम्ति कति उपयोगी रहने हो त्यो पनि भन्न सकिने अवस्था छैन । भीम रावललगायतका नेताहरू प्रचण्डप्रति अहिलेसम्म रिजर्भ देखिएका छन् ।

जनार्दन शर्मा प्रभाकर र टोपबहादुर रायमाझीको भूमिका कस्तो रहने भन्नेमा पनि प्रचण्डलाई शङ्का छ । वर्षमान पुन र रामबहादुर थापाको मात्र सहयोगमा आफू सफल बन्ने विश्वासमा प्रचण्ड छैनन् । त्यसैले वामदेव गौतमलाई संसद्मा प्रवेश गराउने, झलनाथ खनालसहितको एउटा टिम तयार गर्ने र खेल खेल्ने योजनामा प्रचण्ड रहेको बुझिन्छ ।

भदौ १५ गते सांसद पदबाट राजीनामा दिने सर्तमा वामदेव गौतमकै सिफारिसमा पर्यटन राज्यमन्त्री बनेका बुढाले त्यसपछि हुने निर्वाचनमा जिल्लामा टेक्नै नगए पनि जिताइदिने विश्वास वामदेवलाई दिएका छन् । पछिल्लो समयमा धनबहादुरले प्रचण्डसँग पनि राम्रो सम्बन्ध बनाएका छन् ।

प्रचण्डको यस्तो योजनाअनुरूप वामदेव गौतमलाई आगामी मङ्सिरभन्दा यतै सांसद बनाइने भएको छ । त्यसनिम्ति डोल्पाबाट विजयी सांसद (हाल राज्यमन्त्री) धनबहादुर बुढालाई पदबाट राजीनामा गराई रिक्त स्थान (डोल्पा)मा वामदेवले उम्मेदवारी दिने आन्तरिक तयारी भएको छ । राजीनामा दिने सर्तमा नै बुढालाई राज्यमन्त्री बनाइएको र सहमतिबमोजिम आगामी भदौ १५ गतेसम्ममा उनले राजीनामा दिनुपर्ने हुन्छ ।

त्यसरी बुढाले राजीनामा दिएर रिक्त हुन आएको स्थानमा दशैँ र तिहारको बीचमै चुनाव गराउने र कदाचित कुनै कारणले तिहारअघि निर्वाचन गराउन नसकेमा तिहारलगत्तै चुनाव गराइने सोच बनेको छ । तर, धनबहादुर बुढाले गुप्त सहमतिको पालना नगरी पदबाट राजीनामा दिएनन् भने कसलाई राजीनामा गराउने हो, सो किटान हुन सकेको छैन । त्यस्तो अवस्थामा पूर्वमाओवादी पक्षधर कसैलाई राजीनामा दिन लगाएर वामदेवका लागि स्थान सुरक्षित गरिदिने वचन भने प्रचण्डले दिएको बताइन्छ ।

अहिले पर्यटन राज्यमन्त्री रहेका धनबहादुर बुढा तिनै व्यक्ति हुन् जसलाई ०६० मा सूर्यबहादुर थापा प्रधानमन्त्री रहँदा डोल्पा जिल्ला विकास समितिको सभापति मनोनीत गरिएको थियो । पछि बुढाले एमाले पार्टी प्रवेश गरेका थिए । उनी एमाले प्रवेश भएलगत्तै एमाले डोल्पाका जिल्ला सचिव अंगद बुढासहित पार्टीको एउटा ठूलो समूहले विद्रोह गरी नेपाली काङ्ग्रेसमा आवद्ध हुने निर्णय लिएको थियो । अंगद यतिबेला नेपाली काङ्ग्रेस डोल्पाका सभापति छन् ।

गत संसदीय निर्वाचनमा देशकै सबैभन्दा बढी मत प्रतिशत ल्याएर विजयी बन्न सफल धनबहादुर बुढाले निर्वाचनमा काङ्ग्रेसका तर्फबाट बुथ प्रतिनिधि खटिएका व्यक्तिहरूलाई चार दिनसम्म रूखमा बाँधेर राखेको र निर्वाचन सम्पन्न भइसकेपछि छोडिदिएका थिए । वामदेव गौतमका सुपुत्र हरिश गौतमका यार्सागुम्बा व्यापारमा साझेदारसमेत रहेका बुढा ठेकेदार पनि हुन् र डोल्पाका असी प्रतिशत ठेक्कापट्टा यिनैले हात पारेका छन् । भदौ १५ गते सांसद पदबाट राजीनामा दिने सर्तमा वामदेव गौतमकै सिफारिसमा पर्यटन राज्यमन्त्री बनेका बुढाले त्यसपछि हुने निर्वाचनमा जिल्लामा टेक्नै नगए पनि जिताइदिने विश्वास वामदेवलाई दिएका छन् । पछिल्लो समयमा धनबहादुरले प्रचण्डसँग पनि राम्रो सम्बन्ध बनाएका छन् ।

वामदेव गौतम माधव नेपाल र केपी ओली दुवैसँग सहकार्य गर्न नसक्ने स्थितिमा रहेको र गौतमलाई लिएर खेल्न धेरै सजिलो हुने भएकोले प्रचण्डका निम्ति वामदेव सबैभन्दा भरपर्दो कार्ड बनेका हुन् । तर, पहिले डोल्पा जिल्ला विकास समितिको सभापति रहेका धनबहादुरले सहमतिअनुरूप राजीनामा नदिएमा चार महिनाभित्रै सांसद बन्ने वामदेवको इच्छा पूरा हुन थप केही समय लाग्ने देखिन्छ । वामदेव सांसद बनेमा त्यसपछि प्रचण्डले कसरी खेल शुरु गर्ने हुन् यो रोचक जिज्ञाशाको विषय बनेको छ । स्मरणीय छ, वामदेव आफैँ केपीपछि प्रधानमन्त्री बन्न इच्छुक रहिआएका छन् ।