कोशी ब्यारेज
कोशी ब्यारेज
अविरल वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहावले खतराको सूचक नाघेको छ।

आइतबार बिहानको मापनअनुसार नदीको पानीको बहाव २ लाख ३० हजार क्युसेक प्रतिसेकेण्ड पुगेको छ।

यो खतराको लाइनभन्दा माथि भएकाले कोशी ब्यारेजका ५३ ढोकामध्ये २७ ढोका खुला गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए।

एक लाख ५० हजार क्युसेक प्रतिसकेन्ड पानीको बहाव पुगेपछि खतराको रातो बत्ती बल्छ।

तर पनि पानीको बहाव दुई/अढाई लाख प्रतिसकेन्ड पुग्नेबित्तिकै आत्तिहाल्नुपर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी उप्रेतीको भनाइ छ।

 उनले नेपालखबरसँग भने, ‘चार लाख क्युसेक पानी धान्ने क्षमता पुलको छ। त्यसकारण सुनसरीमा त्यस्तो डराइहाल्नुपर्ने अवस्था छैन।’

उनका अनुसार रातिको भन्दा आज बिहान पानीको बहाव घटेको छ। त्यसैले राति २९ वटा ढोका खुलाका गरिएकामा आज २७ वटा मात्र खुला गरिएको उनले बताए।

बाढी पूर्वानुमान शाखाले आइतबार देशका ठूला नदीहरूमा बाढीको खतरा नरहेको जनाएको छ।

तर दोलखा, रसुवा, धादिङ, गोरखा, सुर्खेत, रोल्पा, दार्चुला लगायतका केही पहाडी जिल्लाका नदीहरूमा भने आकस्मिक बाढीको संभावना रहेको जनाएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर हल्का तथा मध्यम खालको वर्षा हुनेछ।

पूर्वी तथा पश्चिमी भेगमा भने ठूलो पानी पर्ने संभावना पनि रहेको मौसमविद् राजु प्रधानांगले नेपालखबरलाई जानकारी दिए।