प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको पछिल्लो गतिविधि तानाशाही बन्दै गएको आरोप लगाएको छ ।

कांग्रेसका सांसद अमरेश कुमार सिंहले गृहमन्त्रालयकै आदेशमा अपहरणको शैलीमा मंगलबार डाक्टरलाई नियन्त्रणमा लिएकोमा आपत्ति जनाएका हुन् ।

‘यो सरकार हो, जनयुद्धकाल होइन’ उनले भने‘ सरकारले विभिन्न बुद्धिजीवि, विभिन्न पेसामा आबद्ध व्यक्तिलाई अपरहण शैलीमा नियन्त्रणमा लिएको छ । यस विषयमा धारणा सार्वजनिक गर्न माग गर्दछु ।’

उनले उपकुलपतिको विषय नसेलाउँदै अर्को डाक्टरलाई आतंकित पार्ने गतिविधि गरेकोले सरकारको ध्यानाकर्षण गराएका छन् ।

यस्तै, सांसद प्रदीप गिरीले जनतालाई तर्साएर शासन गर्न उद्धत सरकार तानाशाही बन्दै गएको भन्दै गएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई बिना कारण अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएर जनतालाई तर्साउन खोजेको आरोप उनले लगाए । सरकारका यस्ता क्रियाकलापले जनता नतर्सने चेतावनी पनि उनले दिए ।

चिकित्सक डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि छलफल हुँदै गर्दा पार्टीको व्हीप अनुसार संसदमा पक्ष र विपक्षमा सांसदहरू देखिएको भन्दै उनले सांसदहरूलाई पार्टीका सदस्य मात्रै नभएर सिंगो देशका जनताको जिम्मेवार प्रतिनिधि बन्न आग्रह गरे ।