काठमाडौँ । लगातारको वर्षाले उपत्यकाको काठमाडौँ र भक्तपुरका विभिन्न स्थान डुबानमा परेको छ । वर्षाका कारण माटोको ढिस्को खस्दा तीन जनाको मृत्युसमे भएको छ ।

महानगरीय प्रहरी परिसय भक्तपुरका एसपी हिमालय श्रेष्ठले दिएको जानकारी अनुसार चाँगुनारायण–७ मा माटोको ढिस्को खस्दा तीन जनाको मृत्यु भएको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

श्रेष्ठका अनुसार जगातीमा सडक क्षेत्र नै डुबानमा पर्दा यातायात अवरुद्ध हुन पुगेको थियो । ‘केही समयअघि हामीले एकतर्फी सडक खुलाउन सफल भएका छौँ,’ उनले भने ।

जिल्लाको मध्य भाग भएर बग्ने हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाका विभिन्न वडाहरु डुबानमा परेका हुन्। हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुर नगरपालिकाको च्यामासिह, जगाती, हनुमानघाट, भेलुखेल, सल्लाघारी क्षेत्र डुबानमा परे ।