नेकपा केन्द्रीय सचिवालय बैठक

नेकपा केन्द्रीय सचिवालय बैठक
नेकपा केन्द्रीय सचिवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। विधान अन्तर्गतको नियमावलीका सम्बन्धमा कार्यदलले प्रतिवेदनका सम्बन्धमा छलफल गर्न आजको बैठक बसेको हो।

यसअघि २३ असारमा बसेको केन्द्रीय सचिवालयको बैठकले नियमावली टुङ्ग्याउन सचिवालयका बरिष्ठ सदस्य बामदेब गौतमको नेतृत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो, जसमा रामबहादुर थापा र महासचिव बिष्णु पौडेल सदस्य थिए।

त्यसअघि नै महासचिव बिष्णु पौडेलको नेतृत्वमा बनेको समितिले नियमावलीको मस्यौदा तयार गरेपनि त्यसलाई थप परिमार्जन गर्नुपर्ने आवस्यकता स्थायी समिति र सचिवालयले देखेपछि गौतम नेतृत्वमा शक्तिशाली कार्यदल निर्माण गरिएको थियो।

पार्टी विधानको अभिन्न अंगको रुपमा लिइएको नियमावली समयमै बन्न नसक्दा नेकपाको एकता विस्तार हुन सकेको छैन। एमाले र माओवादी केन्द्रबीच केन्द्रमा पार्टी एकता भएपनि प्रदेश भन्दा तल र जनवर्गीय संगठनहरुबीचको एकता प्रक्रिया अन्योलमा छ।

विधान अन्तर्गतको नियमावली टुङ्गिएपछि प्रदेश, जिल्ला र स्थानीय तह र जनवर्गीय संगठनहरुको समेत एकता प्रक्रिया सुरु हुनेछ।