काठमाडौं, पुस २७।राजा प्रताप मल्लको पालामा बनेको रानीपोखरीको वास्तविक स्वरुप।हामीले अहिलेसम्म रानीपोखरी बीचको मन्दिर जस्तो स्वरूपमा देख्दै आएका थियौं, अब सम्भवतः त्यस्तो देखिने छैन।

 यो ३ सय ५० वर्षअघिको मल्लकालीन स्वरूपमा फर्कनेछ- ‘ग्रन्थकुट’ शैलीमा।रानीपोखरी जिर्णोद्वार अध्ययन समितिका संयोजक विष्णुराज कार्कीका अनुसार मल्लकालीन ग्रन्थकुट शैलीमै मन्दिर बनाउन सिफारिस गरिने भएको हो। पुरातत्व तथा सम्पदाविद् संलग्न अध्ययन समिति रानीपोखरी जिर्णोद्वारमा उत्पन्न विवादपछि काठमाडौं महानगरपालिकाले गठन गरेको हो।

 ‘अहिलेसम्म उपलब्ध सबभन्दा पुरानो चित्रका आधारमा मन्दिर पुनर्निर्माणको सिफारिस गर्दैछौं,’ पुरातत्व विभागका प्रवक्तासमेत रहेका कार्कीले सेतोपाटीसँग भने।

रानीपोखरी आजभन्दा ३ सय ५० वर्षअघि बनेको सम्पदा हो। बीचमा बालगोपालेश्वर मन्दिर छ। उपलब्ध पुरानो चित्रमा मन्दिरको वास्तविक स्वरूप अहिलेजस्तो छैन (हेर्नुहोस् माथिको तस्बिर)। यो ‘ग्रन्थकुट’ शैलीमा बनेको देखिन्छ। यसलाई ‘शिखर’ शैली पनि भनिन्छ।

सम्पदाविद् तथा आर्किटेक्ट इञ्जिनियरिङका प्राध्यापक सुदर्शनराज तिवारीका अनुसार ग्रन्थकुट शैलीमा मन्दिर बनाउने चलन मल्लकालमै सुरु भएको हो। यो राजा प्रताप मल्ल पालामा बढी लोकप्रिय भएको उनी बताउँछन्।

ग्रन्थकुट शैली भनेको के हो त?

‘ग्रन्थकुट शैलीलाई बौद्धतन्त्रमा आधारित संरचना मानिन्छ,’ तिवारी भन्छन्, ‘तान्त्रिक विधि ज्ञानमा आधारित हुन्छ। विद्यालाई नै शक्ति मानिन्छ।’

‘ग्रन्थकुट शब्द ग्रन्थ र कुट मिलेर बनेको हुनसक्छ। ग्रन्थले किताबको संकेत गर्छ। कुट भनेको अलिकति भिरालो परेको छाना हो।’

उनका अनुसार यस्तो ढाँचाका मन्दिरमा एक वा चारवटा प्रवेशद्वार हुन्छन्। हरेक प्रवेशद्वार अगाडि दुईवटा खम्बा हुन्छ। त्यही खम्बामाथि अलिकति भिरालो परेको छाना हुन्छ।

माथिल्लो छानाको ढाँचाका कारण यसलाई ‘शिखर’ शैली भनिएको हो। तल्लो भिरालो छानामाथि अंग्रेजी अक्षर ‘ए’ जस्तो उठेको हुन्छ। यस्तो ‘ए’ आकार पनि पाँचदेखि नौवटासम्म हुने तिवारी बताउँछन्।

काठमाडौं उपत्यकामा ग्रन्थकुट शैलीका मल्लकालीन मन्दिर प्रशस्तै भेटिन्छन्। पाटन दरबार स्क्वारको नरसिंह नारायण मन्दिर अहिलेसम्म भेटिएको सबभन्दा पुरानो हो।

राजा प्रताप मल्लले नै निर्माण गराएका अन्य संरचना यही शैलीका छन्। जस्तो– स्वयम्भूको प्रतापपुर र अनन्तपुर। अनन्तपुर उनले रानीका नाममा बनाएका थिए।

सम्पदाविद् तिवारीले पुरानो चित्रमा देखिने रानीपोखरी मन्दिरलाई प्रतापपुर र अनन्तपुरसँग दाँजेर हेरेका छन्।

उनका अनुसार रानीपोखरी मन्दिरको ग्रन्थकुट शैलीमा चारैतिर प्रवेशद्वार छ। प्रतापपुर र अनन्तपुरमा भने मोहडा जतातिर फर्केको हो, त्यता मात्र छ। दक्षिणतिर फर्केको प्रतापपुरमा दक्षिणी मोहडामा प्रवेशद्वार छ भने उत्तरतिर फर्केको अनन्तपुरमा उत्तरतिर।

माथिल्लो शिखरको ढाँचा पनि फरक छ।

प्रतापपुरको शिखरमा अंग्रेजी अक्षर ‘ए’ को जस्तो धर्सा नौवटा देखिन्छ। यसलाई ‘नवचल’ भनिन्छ। रानीपोखरीको पुरानो चित्रमा भने पाँचवटा धर्सा देखिने तिवारी बताउँछन्। यसलाई ‘पञ्चचल’ भनिन्छ।

रानीपोखरीको अहिलेसम्म उपलब्ध पुरानो चित्र १ सय ७३ वर्ष अगाडिको हो।

प्रुसियाका राजकुमार वाल्डेमर सन् १८४४ देखि १८४६ सम्म श्रीलंका, भारत र नेपाल भ्रमणमा निस्केका थिए। त्यसैबीच १८४५ फेब्रुअरी ५ देखि मार्च मध्यसम्म उनले काठमाडौं उपत्यका र नुवाकोट भ्रमण गरे। उनको भ्रमण डायरीमा नेपालको अध्याय पनि छ, जसमा रानीपोखरीको उक्त चित्र संकलित छ। चित्रमा ‘रानी के ताल’ भनिएको छ।

त्यतिबेला राजा–महाराजा विदेश भ्रमणमा जाँदा कवि, कलाकार तथा साहित्यकार पनि लैजान्थे। यो चित्र भ्रमण दलकै चित्रकारले बनाएका हुन् वा राजकुमार आफैंले भन्ने प्रस्ट छैन। डायरीमै संकलित चित्रले रानीपोखरीको तत्कालीन स्वरूप भने झल्काउँछ।

यसलाई पुष्टि गर्ने बलियो प्रमाण यसपालि रानीपोखरी उत्खनन क्रममा भेटिएको छ।

रानीपोखरीमा भेटिएको गजुरको भाग। तस्बिरः जिबनराज देवकोटा /अग्निज्वला

पुरातत्व तथा सम्पदाविद्को टोलीले रानीपोखरी उत्खनन गर्दा पिँधमा मन्दिरको गजुर फेला पारेको थियो। छेउका केही भाग भाँच्चिएको उक्त गजुर अहिलेको मन्दिरबाट खसेको होइन। यो ग्रन्थकुट शैलीको मन्दिरमा राखिने गजुरको हिस्सा भएको तिवारी बताउँछन्।

उनका अनुसार फेला परेको भाग बज्रले बनेको ‘कमलाकार’ गट्टा हो। यसलाई ‘पद्माकार’ पनि भनिन्छ।

ग्रन्थकुट मन्दिरको गजुरमा तीन हिस्सा हुन्छन्। सबभन्दा मुनि घन्टाकार हुन्छ। त्योभन्दा माथि कमलाकार हुन्छ। त्यसको माथि कलश राखिन्छ। कलशलाई फेरि कमलाकार गट्टाले छोपिन्छ। यी सबै भाग बज्रले बनेका हुन्छन्।

उत्खननमा भेटिएको कमलाकार गट्टा मल्लकालीन मन्दिर पुनर्निर्माण गर्दा खसेको हुनसक्ने तिवारी बताउँछन्।

गट्टाको बीचमा प्वाल छ। छेउमा छवटा कमलको पात आकार निकालिएको छ। केही पात भाँच्चिएका देखिन्छ। वास्तुशास्त्रअनुसार कमलाकार गट्टामा यस्ता पात ८ वा १६ वटा हुन्छन्। यहाँ भने १२ वटा हुनसक्ने अनुमान छ।

बालगोपालेश्वर मन्दिरको एक मात्र चिनो फेला परेपछि नै पुरातत्व तथा सम्पदाविद्हरूले ग्रन्थकुट शैलीमा बनाउन छलफल गरेका हुन्।

रानीपोखरी संरक्षण अभियानमा लागेका केही अभियन्ताले भने मन्दिरको वास्तविक स्वरूप ग्रन्थकुट पनि नहुन सक्ने बताएका छन्।

प्रताप मल्लकालीन नेपाल भाषाको ‘थ्यासफू’ (हस्तलिखित किताब) लाई उद्धृत गर्दै उनीहरूले ‘सुनको जलप लगाइएको छाने शैलीको मन्दिर’ हुनसक्ने आकलन गरेका छन्। यसै आधारमा काठमाडौं महानगरपालिकामा सुझावसमेत दिइएको छ।

तिवारी भने सहमत छैनन्।

‘मल्लकालीन थ्यासफूमा ‘लूँ देवरः’ भनेर लेखिएको कुरा आएको छ। यो भनेको सुनौलो मन्दिर हो, सुनौलो छाना होइन। सुनौलो मन्दिर भन्नेबित्तिकै सुनको जलप लगाइएको छाने शैलीको मन्दिर नै हो भन्ने म मान्दिनँ,’ उनले भने, ‘त्यसो हो भने कि ‘लूँ पोलः’ कि ‘लूँ तले’ लेखिएको हुनुपर्थ्यो।’

कुनै संरचनालाई ‘महत्वपूर्ण’ र ‘पवित्र’ भनी बुझाउन पनि ‘लूँ’ भन्ने चलन रहेको उनले बताए।

उनले सुन्धाराको उदाहरण दिए, जसलाई ‘लूँ हिटी’ भनिन्छ।

‘यहाँ लूँ भनेर सुनको धारा भन्न खोजेको होइन,’ उनले भने, ‘यहाँको पानी तलेजु मन्दिरमा चढाउन प्रयोग गरिन्छ। यो धारा महत्वपूर्ण र पवित्र छ भन्ने बुझाउन लूँ शब्द प्रयोग गरिएको हो।’

यसबारे समितिका संयोजक कार्कीलाई सोध्दा ‘ग्रन्थकुटभन्दा पुरानो शैलीबारे अहिलेसम्म प्रमाणित जानकारी नभएको’ बताए।

‘यो मन्दिरको स्वरूप विभिन्न समयक्रममा फेरिएको छ। अहिलेसम्म उपलब्ध चित्रअनुसार सबभन्दा पुरानो ग्रन्थकुट नै हो,’ उनले भने, ‘त्योभन्दा अगाडि अर्कै स्वरूपमा बनेको थियो भन्ने प्रमाण फेला परे हामी छलफल गर्न सक्छौं।’

विक्रम सम्बत् १८९० को भुइँचालोपछि रानीपोखरी मन्दिर पहिलो पुनर्निर्माण भएको थियो। त्यतिबेला ग्रन्थकुट शैलीमै बन्यो। १९५१ मा जंगबहादुर राणाले युरोपेली प्रभावमा परेर ‘गुम्बज’ शैली दिए। ९० सालको भुइँचालोपछि जुद्धशमशेरले यही रूपमा पुनर्निर्माण गराए।

यसको ठूलो पुनर्निर्माण २०१३ मा पनि भयो। पछिल्लोपटक राजा वीरेन्द्रको राज्याभिषेक बेला थप काम भए।

атрибут alt картинок для что этогорнолыжнаяinternetссылкамисоздание веб порталовпластика ушей цены