नेकपा स्थायी समितिले पार्टी विधान अन्तर्गतको नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय शक्तिशाली कार्यदल निर्माण गरेको छ।

सचिवालय सदस्यत्रय बामदेब गौतम, रामबहादुर थापा र महासचिव बिष्णु पौडेल सदस्य रहेको कार्यदल आजको बेठकले निर्माण गरेको हो।

नेकपा केन्द्रीय सचिवालय बैठकनेकपा केन्द्रीय सचिवालय बैठक

यसअघि पार्टी महासचिव बिष्णु पौडेलको नेतृत्वमा नियमावली निर्माणका लागि नेकपाले ४ सदस्यीय समिति निर्माण गरेको थियो।

महासचिव पौडेलको नेतृत्वमा निर्माण गरिएको समितिले पेश गरेको नियमावलीको मस्यौदामाथि २१ असारको स्थायी समिति बैठकमा पनि छलफल भएको थियो।

स्थायी समितिबाट आएका सुझाव समावेश हुने गरी गौतम नेतृत्वमा गठन गरिएको ३ दिनको समय दिइएको छ। कार्यदलले २६ असारमा नियमावलीको मस्यौदा पेश गर्नेछ।

‘त्यसै दिन फेरि सचिवालयको बैठक बसेर त्यसलाई अन्तिम रुप दिने निर्णय आजको बैठकले गरेको छ’ पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले नेपालखबरसँग भने, ‘त्यसपछि बाँकी बिषयमा पनि त्यसै दिनको बैठकमा छलफल हुनेछ।’

प्रबक्ता श्रेष्ठले उल्लेख गरेको बाँकी बिषय भनेको पार्टी एकताका सम्बन्धमा टुङ्ग्याउन बाँकी विषय, सरकार र स्थानीय निकायलाई कसरी प्रभावकारी बनाउने लगायतका विषय हुन्।

विधान अन्तर्गतको नियमावली नटुङ्गिदा केन्द्र भन्दा तलका निकाय र जनवर्गीय संगठनहरुको एकता प्रक्रिया अघि बढ्न सकेको छैन।

पार्टी विधानलाई थप व्यवस्थित र स्पष्ट पार्न तयार गरिएको नियमावलीका सम्बन्धमा छलफलका लागि यसै हप्ता दोस्रो पटक केन्द्रीय कार्यालयको बैठक डाकिएको हो।

यसअघि केन्द्रीय कार्यालयको बैठक बुधबार (२० असार) पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो र लगत्तै विहीबार स्थायी समितिको बैठक आयोजना गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्तता र पत्नी सीता दाहालको उपचारका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सिङ्गापुर प्रस्थान गरेपछि नेकपाको तल्लो तहमा सम्बन्धी काममा ढिलाई हुँदै आएको छ।

प्रबक्ता श्रेष्ठले नियमावलीले अन्तिम रुप पाएपछि विधानसहित प्रकासित गर्ने, त्यसपछि पार्टी एकता तल्लो तहसम्म पुग्ने बताए।