मस्को, २१ असार – जारी विश्वकपमा क्वार्टरफाइनल समीकरण पूरा भएको छ । विश्वकपमा सहभागी ३२ टोलीमध्ये अब आठ टोलीबीच शुक्रबारदेखि सुरु हुने क्वार्टरफाइनल भिडन्तले विश्वकपको माहोललाई थप तताउने छ । विश्वकप विजेताको अनुमानको होडबाजी चल्दै गर्दा व्यक्तिगत पुरस्कार गोल्डेन बुट कसले पाउला भन्ने अनुमान र कौतूहल पनि चुलिएको छ ।२१औं विश्वकपको गोल्डेन बुटको दौडमा अहिले इङ्ल्यान्डका कप्तान हेरी केन अगाडि देखिएका छन् । २४ वर्षीय केनले जारी विश्वकपमा हालसम्म ६ गोल गरिसकेका छन् । उनले कोलम्बियाविरुद्ध निर्धारित समयको ५७औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै गोल संख्या ६ पुर्‍याएका हुन् । यद्यपि टोलीका लागि सात गोल गरिसकेका केनले कोलम्बियाविरुद्ध नै टाइब्रेकरमा गरेको गोल भने गणना गरिएको छैन ।

गोल्डेन बुटमाथि बलियो दाबेदारी प्रस्तुत गरेका केनले समूहगत चरणको पहिलो खेलमा ट्युनिसियालाई २–१ ले हराउँदा दुवै गोल उनैले गरेका थिए । अर्को खेलमा पानामालाई ६–१ गोलले हराउँदा त केनले ह्याट्रिक नै गरेका थिए । बेल्जियमविरुद्धको तेस्रो खेलमा आराम दिइएका केनले प्रिक्वार्टरफाइनलमा कोलम्बियाविरुद्ध पेनाल्टीमा गोल गरेका थिए ।

केनले खेलेका तीन खेलमा पेनाल्टीमा मात्र चार गोल गरिसकेका छन् । जारी विश्वकपमा इङ्ल्यान्ड लयमा देखिएकाले केनले अझै गोल गर्ने सम्भावना बढेको छ । गोलसँगै केनको गोल्डेन बुट जित्ने सम्भावना पनि बढेको हो । विश्वकपका सर्वाधिक गोल गर्ने खेलाडीमा केनभन्दा पछाडि बेल्जियमका रोमेलु लुकाकु र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो छन् । दोस्रो स्थानमा रहेका लुकाकु र रोनाल्डोले चार–चार गोल गरेका छन् ।

रोनाल्डोको टोली प्रिक्वार्टरफाइनलबाटै बाहिरिएकाले उनको सम्भावना टरेको छ । लुकाकुले भने केनलाई टक्कर दिने सम्भावना कायमै छ । यसैगरी तीन–तीन गोल गर्नेमा रुसका डेनिस चेरिसेभ र अर्तेम डिजेउबा, फ्रान्सका केलियन एमबाप्पे, उरुग्वेका एडिन्सन काभानी, कोलम्बियाका एरी मिना र स्पेनका डिएगो कोस्टा छन् । स्पेन र कोलम्बिया बाहिरिएकाले मिना र कोस्टाको सम्भावना पनि सकिएको छ ।