प्रतिनिधिसभाको आइतबारको बैठक स्थगित भएको छ । चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकमा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले सहमतिका लागि बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए । तर सहमति नजुटेपछि बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरिएको छ ।

सरकारले प्रतिनिधिसभाको आइतबारको बैठकमा चिकित्सा शिक्षा विधेयक पेश गर्ने तयारी गरेको भए पनि प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका कारण पेश गर्न सकेन । सरकारले फास्ट ट्रयाक विधिबाट चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक पारित गर्ने तयारी गरेको थियो । एकैदिन तीन बैठक बसेर विधेयक पारित गर्ने सत्तापक्षको तयारी थियो ।

सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पेश गर्ने तय भएको विधेयक सरकारले आफूखुसी संशोधन गरेर ल्याउन लागेको भन्दै विपक्ष कांग्रेसले असन्तुष्टि व्यक्त गर्दै आएको थियो ।