२०७४ असोज २४ गते राति। विश्वकप छनोट। दक्षिण अमेरिकी १० राष्ट्रहरुबीचको प्रतस्पर्धापछि शीर्ष चार टोलीहरु रसिया विश्वकपमा स्थान निश्चित गर्नुपर्ने थियाे।

छनोटको अन्तिम खेलसम्म अाइपुग्दा ब्राजिल, उरुग्वे र कोलम्बियाले स्थान बनाइसकेका थिए भने चिली तेस्रो स्थान र अर्जेन्टिना छैटौं स्थानमा थियो। समिकरण यस्तो बनेको थियो कि विश्वकपमा छनोट हुन अर्जेन्टिनाले यता अन्तिम खेलमा इक्वेडरलार्इ पराजित गर्नुपर्ने थियो भने उता सोही रात हुने अर्को खेलमा ब्राजिलले तेस्रो स्थानमा रहेको चिलीलार्इ पराजित गर्नुपर्ने थियाे।

अर्जेन्टिनाले पछिल्ला चारमध्ये ३ मा बराबरी र एक खेलमा मात्रै जितको नतिजा निकाल्न सकेको थियो। यता चिलीले भने पछिल्ला चार मध्ये २ मा जित र २ मा बराबरीको नतिजा निकालेको थियो। धेरैले अघिल्लो विश्वकपको उपविजेता अर्जेन्टिना विश्वकपमा पुग्नेमा शंका व्यक्त गरिरहँदा लियोनल मेस्सीले ह्याट्रिक गर्दै इक्वेडरविरुद्ध उसकै घरेलु मैदानमा अर्जेन्टिनालार्इ सानदार जित दिलाए। उता ब्राजिलले पनि चिलीलार्इ पराजित गरेपछि छैटौं स्थानको अर्जेन्टिना एकै रातमा तेस्रो स्थानमा उक्लदै विश्वकपमा छनोट भयो। तेस्रो स्थानको चिली छैटाैंमा पुग्दै विश्वकपमा छनोट हुन सकेन्।

घरेलु मैदानमा सुरुवाती एक मिनेट नबित्दै रोमारियो इबाराले गोल गर्दै इक्वेडरका सुरुवाती अग्रता दिदैँ अर्जेन्टिनामाथि दबाब थपेका थिए। खेलको सुरुमै १–० गोलअन्तर पछि परेको अवस्थालार्इ उल्टाउँदै मेस्सीले ह्याट्रिक गरेका थिए।

खेलको १२ औं मिनेटमा डी मारियाले दिएको पासमा मेस्सीले गोल खेललाई बराबरीमा फर्काए। २२औं मिनेटमा डी बक्स नजिकैबाट र ६२औं मिनेटमा ३५ यार्ड टाढाबाट मेस्सीले प्रहार गरेको सट गोलमा परिणत भएपछि अर्जेन्टिना संघर्षपूर्ण यात्रा गर्दै विश्वकपमा छनोट भएको थियो।

यता सोही राति युरोप छनोट अन्तर्गत समूह  ‘बी’ को शीर्षस्थानमा रहेको स्विट्जरल्याण्ड पराजित गर्दै क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगलले समूह विजेता बन्दै विश्वकपमा स्थान बनाएको थियो।

स्विट्जरल्याण्डविरुद्ध बराबरी तथा पराजयले प्लेअफ खेल्नुपर्ने अवस्थालार्इ टार्दै २–० ले जित हात पार्दै पोर्चुगलले विश्वकपमा सिधै छानिएकाे थियाे। स्विट्जरल्याण्डबाट एक गोल अात्मघाती उपहार पाएको पोर्चुगलका लागि भ्यालेन्टे सिल्भाले एक गोल गरेका थिए। यसरी एकैदिन २१ अौं शताब्दीका दुर्इ महान खेलाडीहरुले विश्वकपमा स्थान सुरक्षित गरेका थिए।

मिती: २०७५ असार १६ गते।

एकैदिन विश्वकपमा स्थान बनाएका यी स्टारहरु फिफा विश्वकप फुटबलमा एकैदिन घर फर्किएका छन्। अन्तिम १६ मा शनिबार फ्रान्ससँग ४-३ गोलअन्तरले पराजित हुँदै सुरुमा मेस्सीको अर्जेन्टिना र लगत्तै भएको अर्को खेलमा उरुग्वेसँग २-१ को पराजय बेहोर्दै विश्वकपबाट बाहिरिए।

यता अर्को संयोग के रह्यो भने करिअरको लगभग अन्त्यमा पुगेका यी दुर्इ स्टार खेलाडीहरुले विश्वकपको नकअाउट चरणमा लामो समय खेले पनि गोल गर्न सकेनन्। रोनाल्डोले नकअाउट चरणमा ६ खेल खेले ५ सय १४ मिनेट बिताए र पोस्टमा २५ सट प्रहार गरे तर पनि गोल गर्न सकेनन्। मेस्सीले नकअाउट चरणमा ८ खेल खेले ७ सय ५६ मिनेट मैदानमा विताए र २३ सट प्रहार गरे पनि गोल हुन सकेन्। यस विश्वकपमा भने रोनाल्डोको नाममा ह्याट्रिक सहित ४ गोल तथा मेस्सीको नाममा एक गोल दर्ता भएकाे छ।