राष्ट्रपति निर्वाचनमा उम्मेदवारीबारे छलफल गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच आज साँझ पनि भेटघाट हुने कार्यक्रम तय भएको बुझिएको छ । आजको भेटघाटलाई गोप्य राखिने तयारी गरिएको नेपाल निकट  स्रोतले जानकारी दिएको छ ।

कार्यक्रमको सिलसिलामा नेपाल काठमाडौं बाहिर रहेको र उनी काठमाडौं फर्किएलगत्तै यी दुई नेताबीच भेटघाट हुने सम्भावना रहेको ती नेताले बताए ।

‘यसअघि जस्तै राष्ट्रपतिमा नेकपा एमालेले माधवकुमार नेपाललाई समर्थन गर्ने विषयमा भेट हुने हो,’ उनले भने, ‘समय र स्थान तय भइसकेको छैन ।’

सोमबार भएको यी दुई नेताको भेटमा ओलीले पार्टी एकता गर्ने सर्तमा आफूले राष्ट्रपतिमा माधवकुमार नेपाललाई अगाडि सार्न सक्ने बताएका थिए ।

तर आज दिउँसो दाङमा भएको कार्यक्रममा नेपालले आफूलाई कतैबाट राष्ट्रपतिका लागि औपचारिक प्रस्ताव नआएको बताएका छन् र यसबारे आफूले सोचिनसकेको पनि बताएका छन् ।