एजेन्सी
अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासले गाजाबाट बन्धकहरूलाई रिहा गर्ने शर्तमा आक्रमण रोक्ने सम्झौतामा चाँडै सहमति हुनसक्ने संकेत गरेका छन् ।

तर ह्वाइट हाउसले गाजामा बन्दीहरूलाई सुरक्षित रिहाइको लागि वार्ता अघि बढाएको बताए पनि टुंगो भने नलागेको समाचारमा उल्लेख छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीका प्रमुखले हमाससंग भेट गर्ने तय भएपछि सम्झौताको आशा भने बढाएको छ ।

आईसीआरसीले अघिल्लो सम्झौताहरू सहज बनाउन मद्दत गरेको छ । गाजाको घेराबन्दीमा रहेको अल-शिफा अस्पतालबाट २८ जना समयपूर्व जन्मिएका शिशुहरूलाई इजिप्ट प्रवेश गराईएको र १२ जनालाई थप उपचारका लागि कायरो लगिएको समाचार छ ।

यसअघि गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले विभिन्न अस्पतालमा इजरायली हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको बताएको थियो । इजरायलले भने अस्पतालतर्फ प्रहार नगरेको जनाएको छ ।

गाजामा इजरायलले हमासविरुद्धको अभियान सुरु गरेदेखि १३ हजार ३ सय मानिस मारिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अक्टोबर ७ मा हमासका लडाकुहरूले गरेको आक्रमणमा १ हजार २ सय इजरायलीहरूको मृत्यु भएको छ भने २०० भन्दा बढीलाई बन्धक बनाएको छ । बन्धक बनाएका मध्ये केहीको शव प्राप्त भएको छ ।