बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को ट्रायलमा अंकभार प्रणाली लागू भएको छ । प्रदेशमा रहेका १२ वटा यातायात व्यवस्था कार्यालयमध्ये सवारीचालक अनुमति प्रदान गर्ने पाँच कार्यालयबाट नयाँ व्यवस्थाको कार्यान्वयन सुरु भइसकेको छ ।
अब लाइसेन्सका लागि ट्रायल दिँदा कुल १०० मध्ये ७० प्रतिशत अंक ल्याए उत्तीर्ण हुन सकिनेछ । मोटरसाइकल, स्कुटर र कारमा प्रयोगात्मक परीक्षा नयाँ अंक भार प्रणाली लागू भएको हो ।

नयाँ व्यवस्थाअनुसार ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार तोकिएको छ । प्रयोगात्मक परीक्षा १०० पूर्णांकको हुनेछ। जसमा घुमाउरो आठ- २० अंक, साँघुरो फलेक- १० अंक, युटर्न- १० अंक र ट्राफिक संकेत- १५ अंकको रहेको छ । त्यस्तै बम्प्स (उबडखाबड)- १५ अंक, उकालो- २० अंक र परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकन- १० अंकको रहेको छ ।

ट्रायलमा अंक काटिने अवस्थाहरूः

घुमाउरो आठमा एक पटकसम्म अंकित रेखा छोएमा ५ अंक घट्ने छ।
एकपटकसम्म खुट्टाले भुइँ टेकेमा थप ५ अंक घट्ने छ।
युटर्नमा टर्निङ इन्डिकेटर लाइट नबाले १० अंक घट्ने छ।
ट्राफिक संकेत पालना नगर्दा १५ अंक घट्ने छ।
उबडखाबडमा एक पटकसम्म भुइँमा टेकेमा ५ अंक घट्ने छ।
एकपटक सवारीको स्टार्ट बन्द भए ५ अंक घट्ने छ।
सवारी चलाउनु अगाडि सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण गर्नुपर्नेछ। यसो नगरे ३ अंक घट्नेछ।
हेलमेटको लक नलगाई सवारी चलाएमा ४ अंक घट्नेछ।
असंयमित भएर सवारी चलाए ३ अंक घट्नेछ।

के गरे भइन्छ फेल ?

एकपटक भन्दा बढी भुइँमा टेके अर्थात् स्टार्ट बन्द भएमा।
एकपटक भन्दा बढी अंकित रेखा छोएमा वा खुट्टा भुइँमा टेकेमा।
ठीक दिशाबाट ठीक तरिकाले ८ नबनाएमा।
सवारीको स्टार्ट बन्द भएमा।
साँघुरो फलेकमा खुट्टाले भुइँ टेक्दा अर्थात् फलेकको लम्बाई पार गर्नु अगाडि नै सवारी फलेक बाहिर निस्किएमा।
उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा नरोकी अगाडि बढेमा वा रोकिएको अवस्थाबाट सवारीको पछाडिको टायर ६ इन्चभन्दा पछाडि सरेमा।
उकालो सकेर ओरालो झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा ।