मुगुको छायानाथ रारा नगरपालिका–६, मन्दू गाउँमा एकै परिवारका ४ जनाको बीभत्स हत्या गरिएको दुई सातापछि प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)को टोलीले स्थानीय प्रहरीसँग मिलेर सोमबार मुगुको पिना गाउँपालिका–७ का गोर्खबहादुर शाही ठकुरीलाई पक्राउ गरेको हो । ठकुरीकै बयानका आधारमा सोही स्थानका गोपाल बोहरालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार दुवैले अभियोग स्वीकार गरेका छन् ।

८ कात्तिकमा छायाँनाथका २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षीय छोरा मनोज, सात वर्षकी छोरी अप्सरा तथा एक वर्षका छोरा रहरको हत्या भएको थियो । १० कात्तिकमा उनीहरूको शव प्रहरीले फेला पारेको थियो ।

सुन लगाएको देखेपछि हत्या योजना

श्रीदेवीका श्रीमान विदेशमा थिए । उनी छोराछोरीसहित गाउँमा बस्दै आएकी थिइन् । हत्या भएकै दिन उनी माइतीबाट फर्किएकी थिइन् । अभियुक्त ठकुरी श्रीदेवीका नाता पर्छन् । ठकुरीले श्रीदेवीले धेरै सुन लगाउने गरेको देखेका थिए । सोही सुन लुटपाटका लागि हत्या योजना बनेको प्रहरीले जनाएको छ ।

गत जेठ महिनामै ठकुरी र बोहोराले श्रीदेवीको सुन लुटपाट गर्ने योजना बनाएको प्रहरीले जनाएको छ । कोहलपुर बस्दै आएका ठकुरीले गाउँमै गएर सो योजना बनाएका थिए । योजनाअनुसार शाही ५ कात्तिकमा सुर्खेतबाट पिना गएर गोपालको गोठघरमा बसेका थिए । गाउँलेलाई थाहा नहोस् भनेर उनी गोठमा लुकेर बसेका थिए ।

योजनाअनुसार नै उनीहरूले ८ कात्तिकमा हत्या गरेका हुन् । हत्यापछि उनीहरूले साढे दुई तोलाको सुनको रिङ, २५ ग्रामको तिलहरी, चेक, लालपुर्जा र करिब ५–६ हजार नगद लुटेका थिए । त्यही दिन श्रीदेवी माइतीबाट फर्किएकी थिइन् । हत्यापछि उनीहरू सुर्खेत भागेका थिए ।