राष्ट्रपति चयनका क्रममा संघीय र प्रदेश सांसदहरू मतदाता हुन्छन् । त्यसक्रममा संघीय सांसद र प्रदेश सांसदका हकमा फरक–फरक मतभार तय गरिएको छ । विद्यमान मतभारका आधारमा एउटा उम्मेदवारले एक्लै ५० प्रतिशत मत काट्न मुश्किल छ । त्यसमाथि गोप्य मतदान हुने कारण सत्ता गठबन्धनभित्रैका सांसदहरूले अरु उम्मेदवारलाई मतदान गरिदिए भने एमालेले उठाउने उम्मेदवारलाई अप्ठेरो पर्ने छ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति बनाउने कुरामा राष्ट्रिय सहमति जुटाउन प्रयास गरिने भनेपछि एमाले सशंकित भएको छ ।

विश्वासको मत लिने नाममा कांग्रेससँग प्रचण्डको निकटता बढेको र उहाँ आफैँले समीकरण बद्लिएको अवस्था भयो भनेकाले सबैसँग कुरा गर्ने एमालेको नीति छ । पुस १० मै सबै हिसाव किताव सकिएको भनेर एमाले अध्यक्ष केपी ओलीले भन्नु त भयो । तर, उहाँ आफैँ त्यो टिक्नेमा विश्वस्त हुनुहुन्न । त्यसमाथि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ‘राष्ट्रपति हामीले प्रस्ताव गरेको व्यक्ति नै बन्छ’ भन्नुले पनि शंकाको सुविधा दिएको छ । विश्वप्रकाशले ‘मेरो गोरुको बाह्रै टक्का’ को शैलीमा आफ्नै पार्टीको उम्मेदवार हुन्छ भनेका छैनन् । त्यसैले राजनीतकबृत्तमा नयाँ घटनाको विकास भइरहेको बुझ्न सकिन्छ । कूल ५६ हजार मतभार हुँदा करिब २२ हजार सेरोफेरो अहिलेको समीकरणसँग छ । ४ हजारको सेरोफेरोमा अरुको तानतुन गर्दा बल्ल ५० प्रतिशत मत कट्ने हो । त्यसमाथि माओवादीले एमालेको प्रतिस्पर्धीलाई गुपचुप सहयोग गरिदियो भने त्यतै बहुमत पुग्छ । भनिन्छ, त्यस्तो सम्भावना प्रवल छ ।

ओलीका अप्ठ्यारा

जसैगरी पनि राष्ट्रपति आफ्नो मान्छेलाई बनाउनुपर्ने र त्यसपछि धारा ७६ को उपधारा ३ हैन, २ बमोजिम नै नयाँ प्रधानमन्त्रीको आह्वान गरिदिने राष्ट्रपति केपी ओलीको आवश्यकता हो । त्यसका लागि सीता पौडेल, डोरमणि पौडेल, गुरु बराल, सत्यनारायण मण्डलजस्ता नामहरू ओलीका खल्तीमा छन् । यसबीच पार्टी र सरकारलाई राम्रोसँग चलाएर जाऔँ भनी जनार्दनलाई प्रचण्डले खटाएका छन । उनको लाइन एमालेसँग भन्दा काँग्रेससँगै मिलेर जानु उपयुक्त हुने छ ।