राष्ट्रपति सीले बर्खास्त गरे रक्षामन्त्री लीलाई

चीनले रक्षामन्त्री जनरल ली साङ्फुलाई पदबाट बर्खास्त गरेको छ। राष्ट्रपति सी चिनफिङले करिब एक वर्षअघि गत अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवको रूपमा आफ्नो अभूतपूर्व तेस्रो कार्यकाल सुरु गरेपछि पदबाट अचानक हटाइएका ली दोस्रो मन्त्री हुन्। यसअघि विदशेमन्त्री चिन काङलाई तीन महिनाअघि जुलाईमा पदबाट हटाइएको थियो। काङलाई उनका पूर्ववर्ती वाङ यीले विदेश मन्त्रीको रूपमा प्रतिस्थापन गरेका थिए। चिनलाई हटाउनुको कारण अझै खुलेको छैन। करिब दुई महिनाअघि, अगस्टको अन्त्यदेखि सार्वजनिक रूपमा नदेखिएका रक्षामन्त्री जनरल नरली साङ्फुलाई पनि चिनकै शैलीमा हटाइएको छ। अमेरिकाबाट प्रतिबन्धित अवस्थामा रहेका जनरल लीलाई हटाउने निर्णय चीनको राष्ट्रिय जन कांग्रेस स्थायी समितिले अनुमोदन गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको प्रतिनिधिमण्डल दुई पक्षबीच लामो समयदेखि रोकिएको उच्चस्तरीय सैन्य वार्ताका लागि बेइजिङमा पुग्नु केही दिनअघि बेइजिङले जनरल लीलाई हटाइएको जानकारी दिएको हो। ली र चिन दुबै राज्य काउन्सिलर थिए, जुन पद चीनको मन्त्रिपरिषदमा मन्त्रीभन्दा पनि उच्च ओहदा हो। चीनको सबैभन्दा छोटो समयका विदेश मन्त्री ५७ वर्षीय चिन काङले मंगलबारबाट आफ्नो एक मात्र बाँकी रहेको सो सरकारी पद पनि गुमाएका छन्। नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिले मंगलबार चिन काङलाई राज्य काउन्सिलरबाट पनि हटाउने निर्णय गरेको हो। ६५ वर्षीय ली पिपुल्स लिबरेसन आर्मीको सार्वजनिक अनुहार र पीएलएको सत्तारुढ निकाय केन्द्रीय सैन्य आयोगका सदस्य पनि हुन्। रक्षामन्त्री ली सदस्य रहेको केन्द्रीय सैन्य आयोगका अध्यक्ष राष्ट्रपति सी छन् ।एजेन्सी
