इम्बोस्ड नम्बर खारेजी माग गर्दै ५३ संस्थाको संयुक्त विज्ञप्ति

काठमाडौँ, भदौ १२ ।
सरकारले सवारीसाधनमा जबर्जस्ती अङ्ग्रेजी अक्षर मात्र अंकित इम्बोस्ड नम्बर प्लेट प्रयोग गर्नुपर्ने निर्णय गरेकोप्रति देशभरका साहित्यिक, सांस्कृतिक तथा सामाजिक संस्था आन्दोलित भएका छन् । यसै सन्दर्भमा विभिन्न क्षेत्रका ५३ संस्थाले बिहीबार संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयलाई तत्काल सच्याउन सरकारसँग माग गरेका छन् ।
संस्थाहरूको संयुक्त बैठकपछि जारी विज्ञप्तिमा “नेपाली भाषाप्रेमी नागरिक, साहित्यिक/सांस्कृतिक सङ्घसंस्था र सरोकारवाला कसैसँग पनि छलफल वा परामर्श नगरी सरकारले अङ्ग्रेजी अक्षर मात्र राखिएको नम्बर प्लेट लागू गर्न खोजेको कदम संविधान, राजपत्रीय सूचना र नेपाली जनताको मर्म विपरीत छ” भनी उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपाली अक्षरलाई अपमानपूर्वक हटाइनु भाषाविरोधी निर्णय भएको भन्दै तत्काल सच्याएर सवारीसाधन नम्बर प्लेटमा नेपाली अक्षरलाई ससम्मान समावेश गर्न माग गरिएको छ । साथै, माग बेवास्ता भए यसबाट उत्पन्न हुने सबै परिणामप्रति सरकार स्वयं जिम्मेवार हुने चेतावनी समेत दिइएको छ ।
यो संयुक्त वक्तव्यमा साहित्यिक पत्रकार सङ्घ, नेपाल बालसाहित्य समाज, नेपाल स्रष्टा समाज, गुन्जन, शंकर लामिछाने प्रतिष्ठान, पर्वतीय साहित्य समाज नेपाल, लघुकथा समाज नेपाल, अभिव्यक्ति साहित्यिक द्वैमासिक, शब्दपथ, नेपाल मुक्तक प्रतिष्ठान, नारी साहित्य प्रतिष्ठान, पनौती साहित्य समाज, नेपाल वाङ्मय प्रतिष्ठानसहित कुल ५३ संस्थाका पदाधिकारीहरूले हस्ताक्षर गरेका छन् ।
यसअघि पनि विभिन्न लेखक, कलाकार, पत्रकार तथा भाषाविद्हरूले इम्बोस्ड नम्बर प्लेटमा नेपाली अक्षर हटाइएकोप्रति असन्तोष प्रकट गरेका थिए । अब ५३ संस्थाको सामूहिक आपत्ति सार्वजनिक भएपछि सरकारले यसबारे पुनर्विचार गर्ने वा नगर्ने भन्ने प्रश्नमा चासो बढेको छ ।

