तस्करीमा लगानी गर्ने चिनियाँ भारतीय वा नेपाली गिरोहसम्म भने प्रहरी अझै पुग्न सकेको छैन । थुनामा राख्ने हदम्याद सम्बन्धी प्रावधानका कारण सीआईबीले केही दिनभित्रै अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ ।

अभियुक्त पक्राउ गरी अनुसन्धान सुरु भएको मंगलबार ५६ दिन पुग्नेछ । ६० दिनभित्र अदालतमा अभियोग दर्ता गरिसक्नुपर्ने भएकाले चार दिनको समय राखेर अनुसन्धान प्रतिवेदन बुझाउन लागेको हो ।

अनुसन्धानलाई सहयोग गर्न हङकङ र भारत गएको टोली पनि फर्केको छ । प्रहरीले विमानस्थलबाट हराएको ९ किलो र बरामद भएको ६० किलो सुन एकै समूहको भएको निर्क्योल निकालेको छ ।

‘गिरोह र समूह एउटै देखिन्छ’ सीआईबी स्रोतले भन्यो । सरकारी वकिलले पनि अध्ययनका लागि केही दिन मागेकाले मंगलबारसम्म सीआईबीले पहिलो चरणको अनुसन्धान टुंग्याउन लागेको हो ।

३० भदौभित्र मुद्दा दर्ता गर्नुपर्ने भएकाले प्रहरी अनुसन्धान अन्तिम चरणमा पुर्याएको हो । हाल सीआईबीले ३१ जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । जसमा चिनियाँ नागरिक, भन्सार कर्मचारी, भन्सार एजेन्ट, सुन व्यापारी तथा बिचौलीहरू छन् ।

तस्करीको केन्द्रमा चिनियाँहरू नै भए पनि उनीहरूलाई  नेपालमा क–कसले सघाएका थिए भन्नेमा प्रहरी अनुसन्धान अघि बढ्न सकेको छैन ।

पक्राउ परेकाहरूले केही नबताउँदा अनुसन्धानमा ढिलाइ भएको सीआईबी अधिकारीहरूको भनाइ छ । चिनियाँ गिरोहलाई सघाउने नेपालीमध्ये किशोर बस्नेत र सुमन खरेल पक्राउ परेका छन् ।

दुवैलाई प्रहरीले भारतबाट पक्राउ गरी ल्याएको हो । उनीहरूमाथि अनुसन्धान गर्दा बाराका सुन व्यापारी शिव सर्राफ पनि समातिएका छन् ।

सर्राफले आफ्ना लागि तथा भारतमा तस्करीका लागि सो समूहसँग तस्करीको सुन किन्दै आएको अनुसन्धानबाट पुष्टि भएको छ ।

साथै अरू धेरै सुन पसललाई सो समूहले तस्करीको सुन बिक्री गर्दै आएको पनि अनुसन्धानमा पत्ता लागेको छ ।

तर प्रमाण नहुँदा अन्य सुन पसले पक्राउ परेका छैनन् ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साउन ३ मा बरामद गरेको सुनको तस्करी गरेको आरोपमा हालसम्म पक्राउ पर्नेको संख्या २६ पुगेको छ ।

राजस्वले सुन तस्करीबारे अनुसन्धान गर्न साउन २१ मा सीआईबीलाई जिम्मेवारी हस्तान्तरण गरेको थियो ।

हङकङबाट असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन ‘रेडी ट्रेड प्राली’ ले मगाएको थाहा भएको छ  ।

रामकुमार भुजेल, दिलिप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जिक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टियान मि, वेन तोङ, डिङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग, ली वेन सुङ्ग, गणेश पौडेल, किशोर बस्नेत र सुमन खरेल, शिव सर्राफ तथा भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बाहरु वीरेन्द्र नेपाली र कमल परियार  रहेका छन् ।

पक्राउ परेकाहरुको बयान सकिएको छ । पूर्व सभामुख कृष्णबहादुर महराका छोरा पनि पक्राउ परेका छन् । उनलाई सीआईबीले प्रतिवादी बनाएर लैजाने तयारी गरिरहेको छ ।

अन्तरदेशीय अपराध र संगठित अपराध भएकाले सीआईबीकी निर्देशक एआईजी किरण बज्राचार्यको नेतृत्वमा ३३ जनाको अनुसन्धान टोलीले यो प्रकरणका विभिन्न पाटामाथि अनुसन्धान गरिरहेको छ ।

चिनियाँहरूले सुन तस्करीको लेनदेन मिलाउन क्रिप्टोकरेन्सीको कारोबार पनि गरेको प्रमाण प्रहरीले भेट्टाएको छ ।

कतिपय भुक्तानी हुन्डीमार्फतसमेत हुने गरेको थियो । त्यस्तै तस्करीमा संलग्न चिनियाँहरूले नेपाली नागरिकता र पासपोर्ट लिएको विषयमा पनि छुट्टै अनुसन्धान भइरहेको छ ।