उपचुनावकाे नतिजा अपडेटः माओवादीले २ पद थप्याे, कांग्रेसले ४ गुमायाे
काठमाडाैं । स्थानीय तहका विभिन्न ४४ स्थानमा भएकाे उपचुनावकाे परिणाम सार्वजनिक हुने क्रममा छ । हालसम्मकाे नजिता अनुसार नेकपा माओवादी केन्द्रले २ पद थप गरेकाे छ । नेकपा एमालेले पनि समान २ पद थपेकाे छ भने सरकारमा रहेकाे दल नेपाली कांग्रेसले ४ पद गुमाएकाे छ । पालिकातर्फ जम्मा ८ पदमा निर्वाचन भएको मा ४ स्थानकाे नतिजा प्राप्त भएकाे छ भने २ स्थानकाे गणाना चलिरहेकाे छ । बाँकी २ स्थानमा गणना सुरू भएकाे छैन । प्राप्त परिणाम अनुसार माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष र एक नगरपालिका उपप्रमुख गरी २ पद थपेकाे छ । एमालेले पनि एक गाउँपालिका अध्यक्ष र एक उपाध्यक्ष गरी २ पद थपेकाे छ भने कांग्रेसले दुई गापा अध्यक्ष, एक उपाध्यक्ष र एक नपा उपप्रमुख गरी ४ पद गुमाएकाे छ । कांग्रेसले ८ वडा गुमाउँदा थपेको ६ र यथावत राखेको ९ गरी अहिलेसम्म १५ वडामा विजयी भएकाे छ । माओवादी केन्द्रले ५ स्थान गुमाउँदा ५ स्थान नै थपेकाे र यथावत राखेको १ गरी जम्मा ६ वडामा विजयी भएकाे छ । तीन वडा कांग्रेस र एक वडा एमालेलाई बुझाएको माओवादी केन्द्रले कांग्रेसका ३ र एमालेका २ वडा खोस्न सफल भएको छ। कांग्रेसले जितेका दुई पालिकाका प्रमुख र उपप्रमुखपनि उसले यसपटक एक्लै निर्वाचन लडेर आफ्नो पोल्टामा पारेको छ। नेपाली कांग्रेसले विजय हासिल गरेको उदयपुरको त्रियुगा नपा–१२ मा माओवादी केन्द्रका नवीनकुमार वान्तवा राई विजयी भएका छन्। नुवाकोटको ककनी गाउँपालिका– २ पनि माओवादीले कांग्रेसबाट खोस्न सफल भएको छ। २०७९ मा सो वडामा पराजित माओवादी केन्द्रका कृष्ण घिमिरे १ हजार ८५ मतसहित विजयी भएका छन्। माओवादी केन्द्रले नेपाली कांग्रेसबाट खोसेको अर्काे वडा धनुषाको धनुषाधाम नगपालिका–१ हो। नेपाली कांग्रेसको गढ मानिएको सो वडामा यसपटक माओवादी उम्मेदवार शुनिल कापर केवट ६ सय ८४ मतसहित विजयी भएका छन्। रामगोपालपुर नगरपालिका–२ (महोत्तरी) मा एमालेबाट प्राप्त हारको क्षतिपूर्ति माओवादी केन्द्रले गोरखा नगरपालिका–५ (गोरखा) बाट गरेको छ। त्यहाँ माओवादी उम्मेदवार विष्णुबहादुर मगर ४ सय ८६ मतसहित विजयी भएका छन्। गोरखा नगरपालिका–५ मा २०७९ मा एमाले उम्मेदवार खिलबहादुर राना ४ सय ५३ मतसहित विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी गिता थापामगरले ४ सय २८ मत प्राप्त गर्दा माओवादी केन्द्रकी सावित्री राना थापा २ सय ७४ मतमा सीमित भएकी थिइन्। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ पनि माओवादी केन्द्रले एमालेबाट खोस्न सफल भएको छ। त्यहाँ माओवादी केन्द्रका नरबहादुर झाँक्री १ सय ६१ मत सहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी एमालेका नरबहादुर रोकाले १ सय १६ मतमात्र प्राप्त गरेका छन्। २०७९ मा यहाँ एमाले उम्मेदवार नन्दलाल रोका १ सय ८ मतसहित विजयी भएका थिए। निकटतम प्रतिद्वन्द्वी माओवादीका जंगबहादुर रोकायालाई १ सय २ र नेपाली कांग्रेसका नरबहादुर झाँक्रीलाई ८२ मत प्राप्त भएको थियो। २०७९ मा कांग्रेस उम्मेदवारको रुपमा तेस्रो स्थानमा रहेका झाँक्री यसपटक माओवादी उम्मेदवारका रुपमा विजय हासिल गरेका हुन्। कांग्रेसका ३ र एमालेका २ वटा वडा खोसेर माओवादीले २०७९ मा विजय हासिल गरेका वडासंख्या कायम गरेको हो। माओवादी केन्द्रले विजय हासिल गरेका अन्य चार वटा वडाहरु भने यसपटक गुमाएको छ। यसमध्ये हेटौँडा उपमहानगरपालिका–१२ नेपाली कांग्रेसले माओवादी केन्द्रबाट खोसेको छ। जाजरकोटको कुशे गाउँपालिका–६ पनि नेपाली कांग्रेसले माओवादी केन्द्रबाट खोसेको छ। दार्चुलाको दुहुँ गाउँपालिका–५ पनि माओवादी केन्द्रबाट नेपाली कांग्रेसको पोल्टामा गएको छ। माओवादीले गुमाएको अर्काे वडा कालिकोटको तिलागुफा नगरपालिका– ४ हो, जहाँ माओवादी केन्द्रका परबहादुर शाही २०७९ को निर्वाचनमा २ सय ३४ मतसहित विजयी भएका थिए। महोत्तरीको रामगोपालपुर नगरपालिका–२ एमालेले माओवादी केन्द्रबाट खोस्न सफल भएको हो। एमाले ६ स्थान गुमाउँदा ३ स्थान थपेकाे छ भने २ स्थान यथावत राख्दा ५ वडामा विजयी भएकाे छ । नेकपा एस र नेमकिपाले १–१ थपेका छन् भने जसपाले एक गुमाउँदा एक बोनस लिएर २ वडा जितेको छ । यसअघि स्वतन्त्रले १ जितेकोमा अहिले पनि एक जितेको छ । २०७९ को निर्वाचनमा कांग्रेसले जितेका १८, एमालेले जितेका ८, माओवादी केन्द्रले जितेका ६, जसपाले जितेका एक र स्वतन्त्रले जितेका एक गरी ३४ वडा अध्यक्ष रिक्त भएका थिए । रिक्त दुई जिसस प्रमुखमा कांग्रेस निर्विरोध भइसकोके छ । दुई जिसस प्रमुख, ८ पालिका पदाधिकारी र ३४ वडा अध्यक्ष गरी ४४ पद रिक्त भएका थिए ।