उपनिर्वाचन: अहेले कहाँ कसको दबदबा ? यस्तो छ गणित
४४ पदका लागि उपनिर्वाचनको तयारी गरिएकोमा २ जिल्ला समन्वय समितिका प्रमुख र एक वडाध्यक्ष निर्विरोध निर्वाचित भइसकेका छन् । ओखलढुंगा र कैलालीको जिसस प्रमुखमा नेपाली कांग्रेसका क्रमशः टेकराज भट्टराई र टीकाकुमारी भुल निर्विरोध निर्वाचित भइसकेका छन् । यता रुकुम पूर्वको पुथा गाउँपालिका वडा नं २ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।
निर्वाचन प्रयोजनका लागि २५ राजनीतिक दलले नाम दर्ता गराएको भएपनि ५ वटा राजनीतिक दलले उम्मेदवारी नै दर्ता गराएनन् । जसमा हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी), नेपाली कांग्रेस (वीपी), नेपाली जनता दल र आम जनता पार्टी रहेका छन् । यसरी हाल २० राजनीतिक दल र स्वतन्त्र गरी ४१ पदका लागि ३७६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, जसले निर्वाचन आयोगबाट निर्वाचन चिह्नसमेत प्राप्त गरिसकेका छन् ।
निर्वाचन आयोगका अनुसार हाल ४१ पदमध्ये नगरपालिकारगाउँपालिका प्रमुख–उपप्रमुख तथा अध्यक्ष उपाध्यक्ष गरी ८ जना चुनावी मैदानमा रहेका छन् । बाँकी रहेका ३३ पद विभिन्न वडाध्यक्षहरुका लागि उपनिर्वाचन हुन लागेको हो ।
पालिकाको अध्यक्ष तथा उपाध्यक्षका लागि कुनै पालिकामा दलका उम्मेदवार भन्दा स्वतन्त्र उम्मेदवारहरुको बाहुल्यता रहेको देखिन्छ भने कतै स्वतन्त्र उम्मेदवारहरु नै भेटिँदैनन् ।
अघिल्लो मत परिणाम र अहिलेको अवस्था :
मोरङको ग्रामथान गाउँपालिका
मंसिर १६ को उपनिर्वाचनमा ग्रामथानमा अध्यक्ष पदका लागि १६ जना चुनावी मैदानमा छन् । जहाँ नेकपा एमालेबाट तुलसीराम विश्वास, नेपाली कांग्रेसबाट बलराम सरदार थारु, नेकपा माओवादी केन्द्रका नमोनारायण माझी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार विश्वास ‘खवास’, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेशकुमार थन्दार, जनता समाजवादी पार्टी नेपालबाट सुरेशकुमार राजबंशी, जनमत पार्टीबाट विनोदकुमार माझी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारु उम्मेदवार रहेका छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीबाट प्रभुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजु मुसहर, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी ९थारु०, जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी र स्वतन्त्र रूपमा नमनारायण चौधरी थारु अध्यक्ष पदका उम्मेदवार बनेका छन् ।
२०७९ को उपनिर्वाचनमा नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित जयप्रकाश गच्छदार थारुको निधन भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । त्यसबेला नेपाली कांग्रेसका जयप्रकाश गच्छादार थारुले ७६०५ मत ल्याएर निर्वाचित हुँदा नेकपा एमालेका शिवनारायण माझी ६०९३, नेकपा माओवादी केन्द्रका विजयकुमार सरदारले २७२७ मत प्राप्त गरेका थिए । यता राप्रपाका पखुलाल विश्वासले ४४७, एकीकृत समाजवादीका राकेश चौधरीले १३९ मत ल्याउँदा जनमत पार्टीका पंचनारायण चौधरी थारुले ९८ र नेपाल किसान मजदुर पार्टीका मनोजकुमार चौधरीले ४ मत प्राप्त गरेका थिए ।
दोलखाको गौरीशंकर गाउँपालिका
दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्ष पदका लागि उम्मेदवारहरु धेरै देखिएका छन् । जहाँ १६ जनाले सुरुमा उम्मेदवारी दिएका थिए, तर कुनै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि अहिले सबै चुनावी मैदानमा उत्रिएको निर्वाचन आयोगले जनाएको छ । त्यहाँको निर्वाचनमा रोचक के छ भने १६ मध्ये ९ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिँदा ७ जनाले मात्रै दलबाट उम्मेदवारी दिएका हुन् ।
आयोगका अनुसार त्यहाँ नेकपा एमालेबाट उमा लुंगेली मगर शेर्पा, नेपाली कांग्रेसबाट पासदिकी तामाङ, नेकपा माओवादी केन्द्रबाट निम लेकी शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोमा श्रेष्ठ, राप्रपाबाट मनकुमारी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट रविना खड्का, जनता समाजवादी पार्टीका सपना कार्की खड्का चुनावी मैदानमा छन् । त्यस्तै स्वतन्त्र उम्मेदवारी दिनेहरुमा अम्बिका श्रेष्ठ, सर्किमा शेर्पा, दिलबहादुर बस्नेत, दीपक तामाङ, शिवशम्भु तामाङ, द्वारिका बुढाथोकी, अप्सरा विश्वकर्मा, मधुरा कार्की, पुष्प कार्की उम्मेदवार रहेका छन् ।
०७९ को निर्वाचनमा ४७४१ मतका साथ विजयी भएका नेपाली कांग्रेसका श्यामसुन्दर तामाङको निधन भएसँगै पुनः निर्वाचन हुन लागेको हो । त्यस बेला नेकपा एमालेकी मुना सिवाकोटी केसीले ३२८१ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की यशोदा पाठकले २४ मत प्राप्त गरेकी थिइन् । आगामी निर्वाचनमा तीन दलबीच प्रतिस्पर्धा हुने भए पनि स्वतन्त्रको समेत बाहुल्यता रहेका कारण प्रतिस्पर्धा रोचक बन्ने देखिन्छ ।
काठमाडौंको कीर्तिपुर नगरपालिका
स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसले जितेको काठमाडौंको कीर्तिपुर नगरपालिकामा प्रमुखका लागि २० जना चुनावी मैदानमा उत्रिएका छन् । त्यहाँ मुख्य तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीेले भने उम्मेदवारी दिएको छैन । साथै अन्य स्वतन्त्र उम्मेदुवारहरु समेत चुनावी मैदानमा रहेका कारण त्यहाँको चुनावी माहोल रोचक बन्दै गइरहेको छ ।
त्यहाँ नेपाली कांग्रेसबाट कृष्णमान डंगोल, नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन उम्मेदवार रहेका छन् । त्यस्तै नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का ध्रुव महर्जन, जनता समाजवादी पार्टीका दीपक महर्जन, नेपाल (माले) का सुरेन्द्र मानन्धर र जनमत पार्टीका केशव श्रेष्ठ उम्मेदवार रहेका छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवारहरुमा डा. नवरथकुमार बानियाँ, राजमान महर्जन, रामकृष्ण महर्जन, मिम महर्जन, प्रेमबहादुर महर्जन, दिनेशकुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, आनन्द महर्जन, नरेशराज पाण्डे र कविकुमार महर्जनले उम्मेदवारी दिएका छन् ।
कांग्रेसका डंगोल र एमालेका मानन्धर नयाँ अनुहार हुन् । माओवादीका महर्जन पुरानै अनुहार हुन्, जो अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए । यसपटक उनलाई नेकपा एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी महिन्द्र राय यादव समूहले समर्थन गरेको छ ।
गत निर्वाचनमा नेपाली कांग्रेसबाट राजकुमार नकर्मीले ९०४३ मत प्राप्त गरेका थिए भने नेकपा एमालेका केशरत्न बज्राचार्यले ५५०७ मत, माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जन ४०९०, एकीकृत समाजवादीका बटुकृष्ण थापाले ११५३, राप्रपाका जितबहादुर विष्टले ५७२ र नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले ५३२ मत प्राप्त गरेका थिए । त्यस्तै स्वतन्त्रबाट उम्मेदवार बनेका मनोज बुढाथोकीले ३६५ मत, नेपाली कांग्रेस (बीपी) बाट प्रविद खनालले ८१, आमुल परिवर्तन मसिहा पार्टीका श्यामकाजी महर्जनले २१, स्वतन्त्रबाट उम्मेदवार बनेका भीमकुमार महर्जनले १३ मत प्राप्त गरेका थिए । अघिल्लो निर्वाचनमा नकर्मीले कीर्तिपुरमा जित्दै नयाँ इतिहास बनाएका कारण अहिले त्यहाँ के हुन्छ भन्ने चासो बढेको छ ।
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षका लागि ७ जनाको उम्मेदवारी परे पनि अन्तिम नामावलीमा भने २ जना मात्रै चुनावी मैदानमा रहेका छन् । त्यहाँ एमाले–कांग्रेसको साझा उम्मेदवार चुनावी मैदानमा उत्रिएर माओवादीलाई टक्कर दिने तयारी गरेका छन् । उपाध्यक्षमा एमाले जिल्ला उपसचिव केसकुमारी तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी छन् । यहाँ माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढा उपाध्यक्ष उम्मेदवार छन् । कांग्रेसको चुनाव चिह्नमा उम्मेदवार बनेकी तुलाचन एमालेको महिला संगठन अनेमसंघकी केन्द्रीय सदस्य पनि हुन् ।
पुथा उत्तरगंगाको वडा नं २ को वडाध्यक्ष पदमा भने माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । एमाले–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका जीवन रोका र अर्का एक स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै माओवादीका घर्तीले निर्विरोध बाजी मारेका हुन् । रोकाले घर्ती आफ्नो नाता पर्ने व्यक्ति रहेका कारण उम्मेदवारी फिर्ता लिएको बताएका छन् ।
गत निर्वाचनमा त्यहाँ नेकपा माओवादी केन्द्रकी भूपेन्द्रा बुढा निर्वाचित भएकी थिइन् । उनको सवारी दुर्घटनामा निधन भएसँगै पुथा उत्तरगंगामा निर्वाचन हुन पुगेको हो । अघिल्लो निर्वाचनमा स्वर्गीय बुढाले ४०५९ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी कमलकुमारी मल्लले २०१० मात्रै प्राप्त गरेकी थिइन् भने तेस्रो बनेको नेकपा एमालेकी उम्मेदवार धर्म घर्तीबुढाले १८१२ मत प्राप्त गरेकी थिइन् । अघिल्लो पटक पालिका अध्यक्ष र उपाध्यक्षमा माओवादीले जितेका कारण कांग्रेस–एमाले गठबन्धन गरेर माओवादीलाई टक्कर दिने तयारी गरेको हो ।
दैलेखको महाबु गाउँपालिका
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि ७ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यहाँ कुनै पनि स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छैनन् । कांग्रेसबाट झलकबहादुर भण्डारी, माओवादी केन्द्रबाट जंगबहादुर बराल मगर, नेकपा एसबाट जगतबहादुर हमाल, एमालेबाट जंगबहादुर शाही, रास्वपाबाट प्रकाशकुमार बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगरले उम्मेदवारी दिएका हुन् ।
गत निर्वाचनमा नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित स्वर्गीय लछुमन गुरुङले २९७९ मत प्राप्त गरेका थिए । त्यस्तै एमालेका हरिप्रसाद उपाध्यायले २५९१ मत, एकीकृत समाजवादी जंगबहादुर शाहीले २२६८ मत, नेमकिपाका वमबहादुर सिंहले ५८, स्वतन्त्रबाट विष्णुमार बुढा र राप्रपाका रजबहादुर सिंह १५ तथा दिनेश बहादुर सिंहले स्वतन्त्रबाट १ मत प्राप्त गरेका थिए ।
जाजरकोट नलगाड नगरपालिका
जागरकोटको नलगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि ६ जना चुनावी मैदानमा उत्रिएका छन् । ०८० कात्तिकमा गएको भूकम्पमा परी उपाध्यक्ष सरिता सिंहको निधन भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि त्यहाँ नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट सुनिता पुन रावल, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० बाट पार्वती पुन, नेपाल समाजवादी पार्टीबाट पवित्रा जैसीको उम्मेदवारी रहेको छ । साथै त्यहाँ कुनै पनि स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छैनन् ।
गत निर्वाचनमा उपाध्यक्ष निर्वाचित नेपाली कांग्रेसकी स्वर्गीय सरिता सिंहले ५४०६ मत, नेकपा एमालेकी सुनिता बोहराले ३३९३ मत, स्वतन्त्र उम्मेदवार सुशीलाकुमारी शाहीले ९४ मत र राप्रपाकी डम्मरकुमारी बानियाँ ४८ मत प्राप्त गरेकी थिइन् ।
हुम्लाको सार्केगाड गाउँपालिका
हुम्लाको सार्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । ७ जनाले उम्मेदवारी दिएकोमा पछि १ जनाले उम्मेदवारी फिर्ता लिएसँगै ६ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यहाँ स्तवन्त्र उम्मेदवार बनेकी रामसरा खड्का साउदले उम्मेदवारी फिर्ता लिएकी हुन् । जहाँ नेपाली कांग्रेसबाट सबिता बुढा, नेकपा एमालेबाट जाना शाही, नेकपा माओवादी केन्द्रकी देवकी तिमिल्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट संगीता शाही, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बाँचा बुढा र स्वतन्त्रबाट नरेश शाही उम्मेदवार रहेका छन् ।
गत निर्वाचनमा चन्द्रबहादुर कार्कीले ३२६९ मतसहित माओवादी केन्द्रबाट निर्वाचित भएका थिए । तर उनको सवारी दुर्घटनामा परी निधन भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो । त्यसबेला त्यहाँ नेकपा एमालेका तर्फबाट जुनकुमारी फडेराले १०६४ मत मात्रै प्राप्त गरेकी थिइन् भने नेपाली कांग्रेसले गठबन्धनबाट चुनाव लडेका कारण माओवादी उम्मेदवारलाई सघाएको थियो ।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा हुन गएको उपनिर्वाचनमा उपाध्यक्षका लागि ३ जना मात्रै चुनावी मैदानमा छन् । ५ जनाले उम्मेदवारी दिएकोमा २ उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै अहिले त्यहाँ ३ जना मात्रै चुनावी मैदानमा रहेका हुन् । नेकपा (माओवादी केन्द्र)की उम्मेदवार राजुकुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सुनादेवी थापा भोटे (धामी)ले उम्मेदवारी फिर्ता लिए ।
२०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । रिक्त पदका लागि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (एमाले) गठबन्धन र नेकपा (एकीकृत समाजवादी) चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
नेपाली कांग्रेसबाट पुलतीसरा शाही, नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेकपा एकीकृत समाजवादीबाट जवा शाही चुनावी मैदानमा रहेका छन् । गत निर्वाचनमा नेपाली कांग्रेसकी मैना जोशीले १८१० मतसहित जित हासिल गरेकी थिइन् भने एमालेकी सुलोचना कुमारी भण्डारीले १६३७ मत, माओवादी केन्द्रका सुरेस बहादुर रोकायाले १२१३ मत र स्वतन्त्रबाट उम्मेदवार बनेका विरसिंगे विकले ४१ मत प्राप्त गरेका थिए ।