रविले सहकारीको ब्याज तिर्न काटेका ३ दर्जन चेक भेटिए
काठमाडाैं । कम्पनी र सहकारीबीचको कारोबारमा आफूलाई कुनै जानकारी नभएको दाबी गर्दै आएका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले चेक काटेर सहकारीलाई ब्याज तिरेको प्रमाण भेटिएको छ । सहकारी बचत अपचलन छानबिन गर्न गठित संसदीय विशेष समितिले औंल्याएभन्दा बढी प्रमाण प्रहरीले फेला पारेपछि अदालतले समेत लामिछानेलाई थुनामा राख्ने म्याद थप्दै लगेको छ । सहकारी ठगीसम्बन्धी समाचार आउन थालेपछि हतार–हतार गठबन्धन बनाएर गृहमन्त्री भएका लामिछानेले सत्ता र शक्तिको दुरुपयोग गर्दै अनुसन्धान दबाउन खोजेका थिए । तर, संसद्मा निरन्तर आवाज उठेपछि बनेको विशेष समितिले गोर्खा मिडिया नेटवर्कका सञ्चालकहरू जीबी राई, कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछानेलाई ‘प्रचलित कानुनअनुसार कारबाही गर्न’ नेपाल सरकारलाई लेखी पठाएको थियो । संसदीय समितिको सिफारिसका आधारमा प्रहरीले कात्तिक २ मा लामिछानेलाई काठमाडौंमा पक्राउ गरेर पोखरा लगेको थियो । त्यसअघि र पछि प्रहरीले प्राप्त गरेका प्रमाणले सहकारीसँगको कारोबार र ठगीमा लामिछानेको प्रत्यक्ष संलग्नता पुष्टि गरेका छन् । उनले काटेका चेकको प्रतिलिपि कान्तिपुरले प्राप्त गरेको छ । गोर्खा मिडिया नेटवर्कको खाताबाट पोखराको सूर्यदर्शन सहकारीको ब्याज तिर्न रवि लामिछानेले काटेको चेक हस्ताक्षरसहित । प्रहरीले अहिलेसम्म प्राप्त गरेका प्रमाणअनुसार गोर्खा मिडिया नेटवर्कले पाँच सहकारीबाट ६७ करोड ७६ लाख लिएको थियो, त्यसको ब्याज भुक्तान गर्न १ करोड ५५ लाख ८६ हजार ३ सय ४ रुपैयाँ लामिछाने आफैंले चेक काटेर भुक्तान गरेका थिए । यसका लागि उनले विभिन्न मितिमा काटेका करिब तीन दर्जन चेक प्रहरीले बरामद गरेको छ । ‘स्वर्णलक्ष्मी सहकारीलाई ब्याजबापत ९३ लाख ६ हजार ६ सय ६० रुपैयाँ भुक्तान गर्न लामिछानेले गोर्खा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंकमा रहेको ०४०१०१००००५७७ नम्बरको खाताबाट १५ थान चेक काटेको भेटिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘त्यस्तै पोखराको सूर्यदर्शन सहकारीलाई ब्याजबापत २२ लाख ३७ हजार ६ सय ४४ रुपैयाँ भुक्तान गर्न लामिछानेले ग्लोबल आईएमई बैंकमा रहेको ०४०१०१००००५७७ नम्बरको खाताबाट १५ थान चेक काटेको भेटिएको छ ।’ त्यस्तै रूपन्देहीको सुप्रिम सहकारीलाई ४० लाख ४२ हजार रुपैयाँ भुक्तान गर्न पनि लामिछानेले नै चेक काटेको पनि प्रहरी अधिकारीहरूले पुष्टि गरेका छन् । गोर्खा मिडिया नेटवर्क प्रालिको खाता सञ्चालनका लागि रवि लामिछानेले ग्लोबल आईएमई बैंकमा गरेको हस्ताक्षर । गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सञ्चालक छविलाल जोशी र तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमध्ये कुनै एक जनाको हस्ताक्षर चल्ने गरी ग्लोबल आईएमई बैंकमा सञ्चालन गरिएको खाताको विवरण संसदीय समितिले नै प्राप्त गरेको थियो । समितिले खाता सञ्चालकका रूपमा लामिछानेसहितले भरेको केवाईसी फारामसमेत फेला पारेको थियो । सोही खाताबाट लामिछानेले सहकारीलाई ब्याज पनि भुक्तान गरेको प्रमाण प्रहरीले संकलन गरेको हो । ‘सहकारी ठगीमा संसदीय समितिले दिएको आधार तथा प्रमाणभन्दा थप गम्भीर प्रकृतिको प्रमाण भेटिएको छ,’ अनुसन्धानमा संलग्न एक प्रहरी भन्छन्, ‘सहकारीसँगको कारोबारबारे जानकारी नै छैन भन्दै आएका लामिछानेले नै हस्ताक्षर गरी काटेका चेक फरेन्सिक परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको छ ।’ ती चेकमा भएको हस्ताक्षर आफ्नै भएको लामिछानेले प्रहरीसँग स्विकारिसकेका छन् । ‘बयानका क्रममा उहाँले मेरो हस्ताक्षर होइन भन्नुभएको छैन । मैले हस्ताक्षर गरेर अफिसको घर्रामा चेक राखेको थिएँ, कसैले काटिदियो होला, त्यो त मलाई थाहा छैन भन्नुभएको छ,’ ती प्रहरी अधिकृतले भने, ‘पहिलेजस्तो यो मेरो हस्ताक्षर हुँदै होइन भन्नुभएको छैन ।’ त्यसो त गोर्खा मिडियाको प्रबन्ध निर्देशक रहेका लामिछानेले त्यहाँ लगानी कसरी आयो, उनका नाममा सहकारीमा कसरी कारोबार भयो भन्ने सबै प्रश्नमा ‘खोइ, मलाई थाहा छैन’ भन्ने शैलीमा बयान दिँदै आएका छन् । गोर्खा मिडिया नेटवर्कमा काठमाडौंको स्वर्णलक्ष्मी, रूपन्देहीको सुप्रिम, पोखराको सूर्यदर्शन, चितवनको साहरा र वीरगन्जको सानोपाइला सहकारीबाट रकम ल्याई बचत अपचलन गरेको कसुरसहित प्रहरीले उनीसहित विभिन्न व्यक्तिमाथि अनुसन्धान गरिरहेको छ । सूर्यदर्शन सहकारी ठगीमा १८ जनाविरुद्ध मुद्दा दायर भएको छ, गोर्खा मिडियाका सञ्चालकसमेत रहेका कुमार रम्तेलसहितका व्यक्ति पुर्पक्षका लागि कास्की कारागारमा छन् । त्यस्तै बुटवलको सुप्रिम सहकारी ठगीमा २८ जनाविरुद्ध मुद्दा दायर भएको छ । रूपन्देहीमा पक्राउ परेका व्यक्तिहरू पुर्पक्षका लागि थुनामा छन् । कान्तिपुरबाट