दशैंको लागि काठमाडौं ल्याइयो खसीबोका, १० प्रतिशत छुटमा भोलिदेखि बिक्री


दशैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका भित्र्याएको छ ।
कम्पनीले शनिबार थापाथलीमा खसीबोका ल्याएको छ । कम्पनीले आइतबारदेखि १० प्रतिशत छुटसहित खसी, बोका र च्याङ्ग्रा बेच्ने छ ।
यस वर्षका जिउँदो खसीबोकाको मूल्य ६७० रुपैयाँ प्रतिकेजी निर्धारण गरिएको छ । च्याङ्ग्रा प्रतिकेजी १२३० रुपैयाँ तोकिएको छ ।
शनिबार खसीबोका थापाथलीमा झारिए पनि च्याङ्गा भने ल्याइएको छैन । यो वर्ष एक हजारदेखि बढीमा १५ सय वटा खसीबोका र ३०० कालो च्याङ्ग्रा ल्याउने कम्पनीको तयारी छ ।
मकवानपुर, तुलसीपुर, मुस्ताङ लगायत उपत्यका आसपासका क्षेत्रहरूबाट ल्याइएका यी खसी बोका र च्याङ्ग्रा प्रादेशिक कार्यालय थापाथली, काठमाडौँ परिसरबाट खरिद गर्न सकिने कम्पनीको भनाइ छ । नवमीको दिनसम्म खसी बोका र च्याङ्ग्रा खरिद गर्न सकिने छ ।