सहकारी ठगीमा कांग्रेसका गुरुङ र एमालेका पोखरेलकी श्रीमती जोगाउने सरकार पक्षको प्रपञ्च
काठमाडौं । मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलनमा सञ्चालकहरूले कांग्रेस उपसभापति तथा पूर्वकानुनमन्त्री धनराज गुरुङविरुद्ध समेत उजुरी दिए पनि वाग्मती सरकारले भने उनलाई जोगाउन खोजेको छ । सञ्चालकहरूले ११ जनाको नाममा उजुरी दिए पनि प्रदेश सरकारले भने आन्तरिक छानबिनका नाममा धनराजसहित ६ जनाको नाम हटाएर सीआईबीमा पत्राचार गरेको छ । वाग्मतीमा कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री र सोही पार्टीका विमल ठकुरी सहकारीमन्त्री छन् । धनराजकी तत्कालीन श्रीमती तथा सहकारीकी महाप्रबन्धक ज्योति गुरुङले ज्योतिबहादुर भण्डारीसँग मिलेर रकम अपचलन गरेको उजुरी सहकारीले नै दिएको थियो । मितेरीका सञ्चालक बोधविक्रम थापाले प्रदेश सरकारलाई उजुरी दिने क्रममा एक प्रति सीआईबीमा पनि बुझाएका थिए । तर प्रहरीले सहकारी प्रकरणसम्बन्धी उजुरी व्यक्तिगत रूपमा दर्ता नहुने भन्दै सम्बन्धित निकाय (स्थानीय तह, प्रदेश सरकार र संघ) बाट आए मात्र दर्ता गरेर अनुसन्धान अघि बढाउने जनाएको थियो । सहकारीका सञ्चालक थापाले वाग्मती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयमा उजुरी दिएका थिए । उजुरीमा साँवा र ब्याजसहित १४ करोड रकम हिनामिना गरेको आरोपमा ज्योति गुरुङ, धनराज गुरुङ, ज्योतिबहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा, प्रकाश यादव, दिनेश भण्डारीलाई आरोपी बनाइएको थियो । उजुरीमा कृपेस, अर्जुन, टेकेन्द्र र सरोज नामका व्यक्तिलाई पनि आरोपी बनाइएको थियो । मितेरीको बचत अपचलनका विषयमा वाग्मतीको सहकारी मन्त्रालयले भदौ २१ मा प्रहरीको सीआईबीमा पत्राचार गरेको छ । ४० दिनको छानबिनपछिको प्रतिवेदन भन्दै सहकारी मन्त्रालयले पठाएको उजुरीमा धनराजको नाम भने गायब छ । मन्त्रालयले ज्योति, ज्योतिबहादुर, सुजन, हितमान र यादवलाई मात्र आरोपी बनाएको छ । वाग्मती प्रदेशका सहकारीमन्त्री ठकुरीले प्रदेश सहकारी रजिस्ट्रार कार्यालयको छानबिनमा मितेरी सहकारी ठगी प्रकरणमा धनराजको संलग्नता नभेटिएको र संलग्नहरूको मात्रै सूची अनुसन्धानका लागि सीआईबीमा पठाइएको दाबी गरे । ‘सहकारी सञ्चालकबाट आएको उजुरीका आधारमा प्रदेश सरकारले आन्तरिक छानबिन गर्दा जसको संलग्नता देखिएको छ, उहाँहरूको मात्रै नाम राखेर सीआईबीमा पत्र पठाइएको हो,’ उनले कान्तिपुरलाई भने । प्रदेशका सहकारीमन्त्री ठकुरी काठमाडौं २ (३) बाट निर्वाचित हुन् । सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाले मितेरी सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु भएको उल्लेख गर्दै अनुसन्धानमा तथ्य र प्रमाणले भेटेसम्म कसैलाई उन्मुक्ति नदिइने बताए । ‘ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि वाग्मती प्रदेश सरकार र सहकारी सञ्चालक दुवैबाट प्रहरीमा जाहेरी आएको छ । त्यसअनुसार सीआईबीबाट अनुसन्धान अघि बढाइसकेका छौं,’ एआईजी थापाले भने, ‘ठगीमा जो–जो देखिन्छन्, उनीहरूलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याइन्छ । अपराधको अनुसन्धान व्यक्ति होइन, तथ्य र प्रमाणले टुंगो लगाउँछ ।’ २०५७ को जेठ १२ मा कांग्रेस नेता धनराज गुरुङको सिफारिसमा सहकारीको सहायक स्तरमा नियुक्त ज्योति २०५७ साउन २५ मा एकाउन्टेन्ट, २०७० वैशाख ४ मा सिनियर एकाउन्टेन्ट हुँदै संस्थाको महाप्रबन्धक पदमा कार्यरत रहेकामा संस्थाका सदस्य, बचतकर्ताहरू र सहकारी संस्थाको रकम हिनामिना गरेको उजरी छ । उनले ज्योति भण्डारीसँग मिलेर २०७९ फागुन ४ सम्म १२ करोड ५० लाख हिनामिना गरेको दाबी छ । यो रकमको ब्याजसहित अहिले १४ करोड पुगेको छ । ज्योतिले सहकारीको बचत पटकपटक ज्योति भण्डारीलाई मिटरब्याजमा लगाउने गरेको र उनीहरूबीच ९ पटक रकम लेनदेन भएको सहकारीको अध्ययनबाटै खुलेको छ । तर पछिल्लो पटक ज्योति भण्डारीले सहकारी संस्थाका सदस्य कृष्णबहादुर रानाको नाममा विदेशबाट ३३ करोड बराबरको पार्सल आएकाले उक्त रकम पाउन १० प्रतिशत कमिसन जम्मा गर्नुपर्ने भनाइ ल्याएका थिए । ३३ करोड रकम निकासा भएपछि सहकारीका महाप्रबन्धक र सञ्चालकहरूबीच समेत बाँडफाँट गर्ने भन्दै ज्योतिले सहकारीको ३ करोड ४४ लाख रुपैयाँ सुजन शाक्यले भनेको खातामा जम्मा गराएकी थिइन् । तर, त्यो रकम सहकारीमा फिर्ता भएन, ज्योति भण्डारीले ठगेको भन्दै ज्योतिले आफू उम्कने प्रयास गरेकी थिइन् । यो विषय स्वयं धनराजलाई पनि जानकारी रहेको सञ्चालकहरूको दाबी छ । पटक–पटक गरी सहकारीको रकम मिटरब्याजमा लगाएर हिनामिना गरेको भेटिएपछि सहकारी सञ्चालकहरूले धनराज दम्पतीलाई राखेर छलफल नै गरेको र रकम जसरी पनि फिर्ता गर्ने प्रतिबद्धता २०७६ पुसमा गरेको विषय जाहेरीमै उल्लेख छ । तर, दुई महिनापछि २०७६ फागुनमा धनराज र ज्योतिबीच अदालतबाटै सम्बन्ध विच्छेद गराइएको थियो । यो विषयमा अनुसन्धानको माग भइरहेको छ । यता तीन महिनाअघि सांसद सूर्य थापाको सभापतित्वमा गठन भएको संसदीय छानबिन विशेष समितिले बिहीबार मितेरी सहकारीको स्थलगत अध्ययन गरेको थियो । समितिका सभापति थापा र अन्य सदस्यहरूले संस्थाका अध्यक्ष कुम्भराज गुरुङसँग संस्थाको कार्यालयमै गएर सोधपुछ गरेका थिए । समितिका सभापति तथा सदस्यहरूको प्रश्नको जवाफमा कुम्भराजको भनाइ थियो, ‘धनराज गुरुङले सहकारीको रकम हिनामिनाबाट जोगिनकै लागि ‘कागजी’ डिभोर्स गरेका हुन्, यो वास्तविक होइन ।’ तर, सम्बन्ध विच्छेदपछि पनि २०७७ फागुन ३ मा ज्योतिलाई श्रीमतीकै हैसियतमा हकवाला राखेर सहकारीबाट १२ लाख रुपैयाँ ऋण लिएको तमसुक सार्वजनिक भएको छ । सम्बन्ध विच्छेद हुनु अगाडि घर बनाउने प्रयोजनका लागि भन्दै धनराजले करिब १ करोड ८० लाख रुपैयाँ सोही सहकारीबाट ऋण लिएका थिए । उक्त ऋण भुक्तानी नहुँदै गुरुङले २०७७ फागुनमा थप १२ लाख ऋण लिएको स्विकारेका छन् । तर यसको तमसुकमा हकवालामा ज्योति गुरुङको नाम छ, जबकि एक वर्षअघि नै उनीहरूको सम्बन्ध विच्छेदको अदालती कागज बनिसकेको थियो । सम्बन्ध विच्छेद भइसकेको हो भने ज्योति गुरुङलाई हकवाला भनेर किन राख्नुभयो भन्ने कान्तिपुरको प्रश्नमा धनराजले भने, ‘मैले छोरालाई अस्ट्रेलिया पठाउँदा ऋण लिएको हो । त्यतिबेला कर्मचारीहरूलाई श्रीमतीसँग डिभोर्स गरिसकेको छु, ज्योतिको नाम नलेख्नु भनेर सहीछाप गरेको हुँ । म निस्केपछि ज्योतिको नाम श्रीमतीकै रूपमा राखेर कर्मचारीले बदमासी गरिदिएछन्,’ गुरुङले भने, ‘यसमाथि पनि छानबिन गरियोस् भन्ने मेरो माग छ ।’ श्रीमती सँगै हुँदा सहकारीबाट ल्याएको ऋण एक्लै तिरेको धनराजको दाबी छ । ‘जति तिरे पनि ऋण घटेन, ब्याज बढेको बढ्यै गर्यो । ब्याजमाथि ब्याज थपिँदै गयो । अनि २०८१ को वैशाखतिर हुनुपर्छ, सहकारीले हिसाब मिलान गरेर राखेको ९१ लाख २६ हजार १४ रुपैयाँ एकैचोटि भुक्तानी गरेको हो,’ उनले भने । सहकारीबाट ऋण लिएर बनाएको घर बिक्री गरेको र त्यही रकमबाट सहकारीको ऋण तिरेको उनको भनाइ छ । मितेरी सहकारीको बचत अपचलनमा उपसभापति गुरुङमाथि आरोप लागेको विषयमा उनको दल कांग्रेस मौन छ । कांग्रेसले पार्टी उपसभापतिमाथि अनुसन्धान गर्नुपर्ने विषयमा संस्थागत धारणा बाहिर ल्याएको छैन । कांग्रेस महामन्त्री गगन थापाले केही दिनअघि सार्वजनिक मञ्चबाट उपसभापति गुरुङमाथि छानबिन गर्नुपर्ने माग गरेका थिए । अर्का महामन्त्री विश्वप्रकाश शर्माले ठगी प्रकरणमा दल र अनुहार नहेरिने प्रतिक्रिया दिएका छन् । महामन्त्री शर्माले सीआईबीले थालेको अनुसन्धान स्वागतयोग्य भएको बताए । ‘अरू पार्टीका नेतामाथि आरोप लाग्दा छानबिन हुनुपर्छ भनेका थियौं भने आफ्नो पार्टीको नेतामाथि आरोप लाग्दा छानबिन हुन पर्दैन भनेर कसैले सोचेको छ भने त्यो गलत हो,’ शर्माले कान्तिपुरसँग भने, ‘हामी आरोपलाई हेर्छौं, अनुहारलाई हेर्दैनौं । दोषलाई हेर्छौं, दललाई हेर्दैनौं ।’ धनराजले पनि आफूसहित पूर्वपत्नी ज्योति र सञ्चालक तथा कर्मचारीहरूविरुद्ध अनुसन्धान अघि बढाएकोमा गुरुङले स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । ‘ममाथि लागेको आरोप चाँडै प्रस्ट होस् भनेरै संसद् बैठकमा छानबिनको माग गरेको हुँ, सीआईबीले अनुसन्धान थालेको भनेर समाचार आएको छ । निष्पक्ष छानबिन गरेर जस्ताको तस्तै ल्याइदेओस् भन्ने नै मेरो कामना छ,’ उनले कान्तिपुरसँग भने । पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले पनि गुरुङमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गरेका छन् । ‘कुनै पनि आरोपको जिम्मेवारी व्यक्ति आफैं हुने हो । कांग्रेसको प्रस्ट दृष्टिकोण पार्टीका कुनै पनि नेतामाथि लागेको आरोपको निष्पक्ष छानबिन हुनुपर्छ, सत्यतथ्य आउनुपर्छ भन्ने नै हो,’ उनले थपे, ‘अनुसन्धानको प्रक्रियामा उपसभापतिले सहयोग गर्न तयार छु भन्नुभएको छ । आफैंले अनुसन्धानको माग गर्नुभएको छ । जहाँसम्म पदीय जिम्मेवारीबाट अलग हुने नहुने भन्ने प्रश्न छ, भर्खरै अनुसन्धान अघि बढिरहेका बेला यस विषयमा बोल्न अहिल्यै हतारो हुन्छ ।’ -कान्तिपुरबाट