काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल पनि श्रीमतीलाई अघि सारेर खोलेको सहकारीबाट रकम अपचलन गरेको आरोपमा मुछिएका छन् । सहकारीबाट कर्जा लिएका ऋणीका कागजपत्र बैंक तथा वित्तीय संस्थामा राखेर ऋण लिएर करिब ११ करोड हिनामिना गरेपछि पोखरेल पत्नी अन्जला कोइरालासहित सञ्चालक कालोसूचीमा परेका छन् । पीडितले नामै तोकेर उजुरी दिए पनि कोशी प्रदेशको सहकारी रजिस्ट्रार कार्यालयले प्रहरीमा फाइल पठाउँदा अन्जलाको नाम गायब पारेको छ । सहकारी सञ्चालकहरूका अनुसार नेता पोखरेलले शिक्षकसमेत रहेकी पत्नी अन्जलालाई करिब ६ वर्ष सञ्चालक बनाएका थिए । करिब पाँच हजार बचतकर्ता रहेको उमागौरी सहकारी करिब डेढ वर्षदेखि बन्द छ । स्थापनाकालदेखिका सबै कागजपत्र गायब पारिएको बचतकर्ताको भनाइ छ । २०७२ देखि सञ्चालक रहेकी अन्जला सहकारी संकटमा पर्न थालेपछि २०७८ मा संस्थाबाट अलग भएकी थिइन् । 
 सहकारीपीडितहरूले अध्यक्ष शम्भुप्रसाद रौनियार र सञ्चालक अन्जला कोइरालासमेत विरुद्ध कोशी प्रदेशको सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयमा उजुरी दिएका छन् । रजिस्ट्रारको कार्यालयले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरेको छ । ‘एक साताअघि मात्रै सरकारीका अध्यक्षसहित सबै सञ्चालक माथि अनुसन्धान गर्न प्रहरीलाई पत्र पठाएका छौं,’ सहकारी रजिस्ट्रार कार्यालयका प्रमुख हरिबहादुर खत्रीले भने, ‘प्रहरीले अनुसन्धान कहाँ पुर्‍यायो, हामीले थाहा पाउन सकेका छैनौं ।’ सर्वसाधारण बचतकर्ताले दिएको उजुरीमा नाम भए पनि सहकारी रजिस्ट्रारको कार्यालयले प्रहरीलाई लेखेको पत्रमा भने पोखरेल पत्नीको नाम गायब पारिएको छ । प्रहरीलाई लेखिएको पत्रमा अन्जलाको नाम नरहेको पनि पुष्टि गरे, तर त्यसको कारण खुलाउन चाहेनन् । जिल्ला प्रहरी मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले भने पत्रबारे जानकारी नभएको बताए । उनले भने, ‘म अहिले बाहिर छु, पत्र आए/ नआएको जानकारी छैन । हेरेर खबर गरूँला ।’ बचतकर्ताहरूका अनुसार सहकारीका ऋणीले बुझाएको कागजपत्र विभिन्न बैंक तथा वित्तीय संस्थाबाट राखेर ११ करोड ५६ लाख रुपैयाँ ऋण लिइएको छ । ‘सहकारीबाट एकाध लाख कर्जा लिँदा ऋणीहरूले बुझाएका कागजपत्र बैंकमा राखेर सञ्चालकहरूले ठूलो रकम लिएको भेटिएको छ । यो विषयमा ऋणीलाई जानकारी समेत थिएन । अझ, बचतकर्ताको २ करोड ३ लाख ५४ हजार सञ्चालकले हिनामिना गरेका छन्,’ एक बचतकर्ताले भने ।