सेयर बजारमा पुजी पलायन भयको त छैन ?
काठमाडौं । साउन ३१ गते सेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार रेकर्ड बन्यो । सो दिन २९ अर्ब ९५ करोड रुपैयाँको कारोबार भयो । भदौको पहिलो कारोबार दिन २ गते २८ अर्ब ८३ करोडको कारोबार भयो । त्यसपछिका कुनै पनि दिन कारोबार रकम २० अर्ब पनि पुगेन । त्यसयता बजारको परिसूचक नेप्से घट्दै गयो र कारोबार रकम पनि ओरालो लाग्दै अहिले १० अर्बमुनि खुम्चिन थालेको छ । एक महिनाकै अन्तरमा कारोबार रकम एकतिहाइभन्दा कममा खुम्चिएपछि कतिपय लगानीकर्ता बजारबाट ठूलो रकम बाहिरिएको अनुमान गर्छन् । यहीं कारण आत्तिएर नोक्सानमै सेयर बेच्न थालेका छन् । अकस्मात बजारमा ठूलो रकम भित्रियो, सो रकमले करेक्सनविना बजारको परिसूचक बढाउँदै लग्यो तर साउन मसान्ततिर वा नेप्से ३ हजार आसपास पुग्दा बुक भएको नाफासहितको रकम बजारबाट बाहिरिएको केहीको बुझाइ छ । अनुभवी ब्रोकर सञ्चालकहरू भने बजारको पैसा अन्यन्त्र कतै नगएको, सेयरका रुपमा अड्किएको र होल्ड भएको पैसा पनि क्रमिक रुपमा आइरहेको दाबी गर्छन् । नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्व अध्यक्ष समेत रहेका नरेन्द्र सिँजापति बजारको गिरावटमा निरन्तरता भएपछि कारोबारी तथा लगानीकर्ताले एकैपटक पैसा बजारमा नल्याउनु स्वभाविक रहेको बताउँछन् । ‘बजार बढ्दै जाँदा कारोबारीको नाफा पनि बढ्दै गयो, नाफासहितको रकम बजारमा घुमिरह्यो जसले गर्दा कारोबार रकम ३० अर्बसम्म पुग्यो’ उनले भने । जब बजार घट्न थाल्यो त्यसपछि थप करेक्सनको आसले पैसा बजारमा एकैपटक आएन करेक्सन लम्बिँदै जाँदा कारोबार घट्दै गयो । सिँजापति यसलाई उदाहरणबाट अझ प्रष्ट पार्छन् । ‘असारमा नेप्से २ हजार आसपास रहेका बेला एक कारोबारीले १ लाख रुपैयाँ लगानी गरेको थियो, साउन अन्तिमतिर नेप्से ५० प्रतिशत बढेर ३ हजारमा पुग्दा उसको लगानी रकम बढेर डेढ लाख पुग्यो, ५० हजार नाफा पाएपछि उसले बेच्यो र थप बढ्ने आशले त्यहीं डेढ लाख अर्को कम्पनीमा फेरि लगानी गर्यो’ उनले भने ‘डेढ लाखको किन्नु र डेढ लाखको बेच्नुले ३ लाखको कारोबार भयो, अर्थात् वास्तविक १ लाख रुपैयाँले ३ लाखको कारोबार ग¥यो । जसले साउन अन्तिमतिर कारोबार रकम उच्च देखियो, तर अहिले बजार घट्दा थप खरिदका लागि उसँग पैसा भएन, सेयरमै होल्ड भयो ।’ अर्कोतिर नाफा बुक गरेका वा पैसा भएकाहरुले पनि घट्दो बजारमा एकैपटक लगानी गर्ने नभई थोरै थोरै लगानी गर्ने गर्छन् । अर्थात् लागतमा एभरेजिङ गर्दै लगानी गर्छन् । जसले गर्दा अहिले कारोबार खुम्चिएको हो । घट्दो बजारमा उच्च रकममा खरिद भएको पैसा सेयरमै होल्ड हुनु र नाफा बुक गरेकाले थप घट्ने आशले थोरै थोरै मात्र बजारमा लगानी गर्नुले कारोबार रकम सुक्दै गएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा बताउँछन् । ‘बजारबाट अन्य क्षेत्रमा पैसा गएको होइन, घट्दो ब्याजदर र बैंकमा पर्याप्त लगानीयोग्य रकम भएकाले सेयर बजारको पैसा निक्षेपमा गएर बस्ने अवस्था छैन, अन्य क्षेत्रको बिजनेसमा सुस्तता भएकाले यस्तो बेला बजारमै पैसा आउने हो’ उनले भने । यतिबेला आम सर्वसाधारणमा खरिदको मनोभावना घटेको छ । ठूलो लगानी गर्नेहरु बजार घट्दा र बढ्दा पनि संयम हुन्छन् तर आम सर्वसाधारण भने बजार बढ्दा आक्रामक रुपमा खरिद गर्ने र घट्न थाल्दा आत्तिएर बेचिहाल्ने हुँदा त्यसकै प्रभाव बजारमा देखिने गर्छ । यतिबेला आम सर्वसाधारण कि माथिल्लो बिन्दुमा खरिद गरेर बसेको अवस्था छ भने आत्तिएर बेच्नेले बेचिसकेका छन्, जुन पैसा बजार घटिरहँदा आउँदैन । ‘बजार छोटो समयमा धेरै नै बढेपछि घट्नु पनि स्वभाविक थियो, धेरैले करेक्सनको अपेक्षा गरेका पनि थिए, तर करेक्सन केही लम्बिँदै गएपछि पैसा रोटेसन हुन सकेन’ सापकोटाले भने । बजार घटेका बेला राज्यले विश्वास बढ्नेगरी पूँजी बजार सुधारतिर लाग्नुपर्ने सापकोटा जोड दिन्छन् । यद्यपि बजारमा कारोबार गर्ने आयातकर्ताले केही पैसा चाडपर्वलक्षित आयातका लागि पनि लगेका हुन सक्छन् । त्यस्तै राजधानीमा हालै सम्पन्न नाडा अटोशोमा केही गाडी बुकिङ भएकाले त्यसको लागि पनि केहीले पैसा होल्ड गरेका हुन सक्छन् । तर त्यो रकम बजारका लागि निकै न्युन हुने भएकाले खास प्रभाव नपर्ने नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालको दाबी छ । ‘केही पैसा तलमाथि भएको होला, तर बजारलाई त्यसले खास प्रभाव पर्दैन’ उनले भने ‘हिजो बजार माथि गएका बेला सेयर किनेकाहरुलाई अहिले घट्दा किन्नका लागि पैसा नभएको अवस्था हो ।’ त्यतिबेला बेचेकाले पनि करेक्सन आएपछि पैसा होल्ड नै गरेको र कारोबार रकम घट्दै गएको उनले बताए । ‘पैसा भएकाहरु वेट एण्ड वाचमा छन्, सकेसम्म घटाएर तल्लो मूल्यमा किन्न खोज्नु त खरिदकर्ताको विशेषता नै हो ।’ जब बजार माथि फर्किन थाल्छ, कारोबार फेरि बढ्न जाने उनको दाबी छ । अर्कोतर्फ धेरै कारोबारीले साउन र भदौ महिनालाई बजारको ‘सिजनल’ समयका रुपमा बुझ्ने गरेका छन् । विगतका चार चरणका बुललाई हेर्दा दुई वटा साउनमा, एउटा भदौमा र एउटा कात्तिकपछि अन्त्य भएको देखिन्छ । यहीं कारण साउन र भदौपछि बजार घट्छ भन्ने मानसिकता छ । ‘साउन, भदौलाई सिजनका रुपमा पनि लगानीकर्ताले बुझ्ने गर्छन्’ सापकोटाले भने ‘तर असोज, कात्तिकमा बजार बढेका उदाहरण पनि छन् ।’