डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ भने ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ५० वर्षीय प्रेम बोहरा, १३ वर्षीया सीता बोहरा,४० वर्षीया भगवती बोहरा, ८ वर्षीय हर्क बोहरा, १४ वर्षीय धनसरी बोहरा र १४ वर्षीया तुल्सी बोहरा रहेको साथै मृत्यु हुनेमा ४ जना भने बालबालिका रहेको इलाका प्रहरी कार्यालय सानागाउँले जनाएको छ।

घाइते हुनेमा सोही गाउँकी ईन्नरी देवी बोहरा, धौली बोहरा, किस्ना बोहरा, साना बोहरा र महाबिर बोहरा रहेका छन् ।

उक्त गाउँका ८ घर भूकम्पले क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको कालाखेती केन्द्रबिन्दु बनाई आज बिहान २:१२ बजे ६.६ रेक्टरस्केलको भूकम्प गएकाे हो।

यसअघि खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दू भएर मंगलबार बेलुका ९ बजेर ७ मीनेट जाँदा ५.७ रेक्टरस्केलको भूकम्प गएको थियो ।