गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । गोरखाबाट आज बिहान ७ बजेर १० मीनेटको साइतमा धार्मिक विधिअनुसार फूलपातीको डोली काठमाडौं पठाइएको बताइएको छ ।
पहिले गोरखाबाट धादिङ हुँदै काठमाडौंसम्म मानिसले बोकेर ल्याइने फूलपातीको डोली पछिले समय सवारी साधनमा राखेर ल्याउन थालिएको हो । आज बा.२ झ ३८८२ नम्बरको सरकारी गाडीमा राखेर पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले बताए ।फूलपाती काठमाडौं आइपुगेपछि जमलदेखि हनुमानढोका दरबारसम्म गुरुजुको पल्टनसहित नेपाली सेनाले फूलपाती डोलीमा राखेर लैजाने कार्यक्रम छ । सोही समयमा टुँडिखेलमा सेनाले बढाइँ गर्नेछ ।

आज गोरखाबाट चण्डीथानका पुजारी कुलबहादुर थापाको नेतृत्वमा फूलपाती ल्याइएको छ । गोरखाको फूलपाती काठमाडौंको हनुमानढोकामा भित्र्याउने प्रचलन तत्कालीन राजा पृथ्वीनारायण शाहले काठमाडौंबाट शासन सञ्चालन गर्न थालेपछि शुरु भएको हो ।