आज एक विज्ञप्ति जारी गर्दै उहाँले राष्ट्रपति भण्डारीले संविधानको पालना र संरक्षण गर्न नसकेको बताउनुभएको हो । संविधानको दायराभन्दा बाहिर जाने छुट कसैलाई नभएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले राष्ट्रपतिलाई पदीय हैसियत स्मरणसमेत गराउनुभएको छ ।

‘पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो,’ उपराष्ट्रपतिको विज्ञप्तिमा भनिएको छ, ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन । संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु ।’विज्ञप्तिमा उहाँले सार्वभौम संविधान सभाबाट संविधान जारी भएको नेपाली इतिहासकै स्वर्णिम दिन संविधान दिवस यहीं असोज ३ गते हर्षोल्लासका साथ मनाएको स्मरण गराउनु भएको छ । उक्त सुनौलो दिनको अवसरमा सबैले संविधानको पालन र संरक्षण गर्ने प्रतिबद्धता पनि दोहोर्याएको उपराष्ट्रपतिले सम्झना गर्नुभएको छ ।

‘संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हो । संविधान बमोजिम सबैबाट आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ,’ उहाँको भनाई छ ।