स्रोतका अनुसार मिश्रलाई दोस्रो वरीयता दिँदा पार्टीका संस्थापक नेताहरू पशुपतिशमशेर जबरा, डा.प्रकाशचन्द्र लोहनीको व्यवस्थापन गर्न निकै सकस छ । मिश्रले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको उम्मेदवार मनोनयनअघि नै राप्रपा प्रवेश गर्ने चाहना राखेका छन् । त्यसका लागि उनले पटक–पटक राप्रपा नेताहरूसँग छलफल गरे पनि दोस्रो वरीयता दिन लिङ्देनबाहेकका अरु नेता तयार नभएकाले ढिलाइ भएको बताइन्छ ।

विवेकशील साझाका सातमध्ये छ प्रदेश अध्यक्षसहित ठूलो संख्यामा नेता–कार्यकर्तालाई राप्रपा प्रवेश गराउने प्रतिबद्धता गर्दै सह–अध्यक्ष मागेकोमा मिश्र अन्ततः दोस्रो वरीयतामा उपाध्यक्ष बन्न सहमत भएको स्रोत बताउँछ । लिङ्देन र उनीनिकट नेताहरु मिश्रको मागबमोजिमको पद दिन तयार भए पनि बुद्धिमान तामाङहरुले नमानेका हुन् ।

राप्रपामा अहिले राणा र लोहनी वरिष्ठ नेता छन् । मिश्र आउँदा राणा र लोहनी पछि पर्नेछन् । सोही कारण तामाङसहितका नेताहरू मिश्रलाई भित्र्याउन तयार नभएको एक नेताले जानकारी दिए ।

मिश्रको भने एकमात्र चाहना काठमाडौं–१ मा हलो चिन्हबाट चुनाव लड्ने र कांग्रेसका प्रकाशमान सिंहलाई हराएर सांसदको लोगो लगाउनेमा देखिन्छ । त्यसका लागि उनले ‘विचारभन्दा माथि देश’ को नयाँ सिद्धान्त प्रतिपादन गरेका छन् । त्यसलाई विवेकशीलका नेताहरुले राप्रपा प्रवेशको बाटो ठानेका छन् ।राप्रपाको असन्तुष्ट समूहका एक नेताले मिश्रलाई लिङ्देनपछिको नेता स्वीकार नगर्ने बताउँदै अन्यथा ‘विद्रोह’ हुने चेतावनी दिएका छन् ।