खेर जाँदै ४० लाख ‘डोज’ खोप

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज (बुस्टर) खोप ल्याउने तयारी गर्दै गर्दा भण्डार गरी राखिएको ४० लाख डोज खोप भने खेर जाने अवस्थामा पुगेको छ ।

पहिलो, दोस्रो र तेस्रो डोज खोप लगाइसकेका नागरिकलाई चौथो डोज दिनेगरी सरकारले पहिलो र दोस्रो चरणमा गरी ३० लाख डोज फाइजर खोप ल्याउने तयारी गर्दै गर्दा पहिल्यै ल्याइएका ४० लाख डोज साइनोभ्याक खेर जाने अवस्थामा पुगेको हो ।

त्यस्तै, ३ लाखभन्दा बढी डोज भेरोसिल खोपसमेत स्टक छ । देशका सातै प्रदेशसहित विभागको कोल्डस्टोरमा ४३ लाख ८८ हजार ६ सय डोज खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागको तथ्यांक छ । त्यसमध्ये साइनोभ्याक मात्रै ४० लाख डोज छ । त्यसबाहेक अन्य भेरोसिल खोप मौज्दात छ ।

सरकारले विशेष निर्णय गर्ला ?

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले ४० लाख डोज साइनोभ्याक र बाँकी भेरोसिल खोप विभागको कोल्ड स्टोरहरूमा स्टक रहेको जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनले यी दुवै खोपलाई बुस्टर डोजका रूपमा प्रयोग गर्न अनुमति दिएको छैन । तर, भेरोसिल भने पहिलो र दोस्रो डोज लगाउन केही जनसंख्या बाँकी रहेकाले लगाउन मिल्ने विभागको बुझाइ छ । साइनोभ्याक खोप भने स्वास्थ्य मन्त्रालयले विशेष निर्णय नगरे खेर जान सक्छ ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका महानिर्देशक सर्वेश शर्मा विभागअन्तर्गतका कोल्डस्टोरमा स्टक खोपको म्याद २०२३ डिसेम्बरसम्म रहेको र त्यसअघि नै सरकारले विशेष निर्णय गर्नुपर्नेमा जोड दिन्छन् ।

‘४० लाख साइनोभ्याक र बाँकी भेरोसिल गरी ४३ लाख बढी डोज खोप हामीसँग स्टक छ, ती खोपको उपभोग्य म्याद डिसेम्बर २०२३ सम्म छ, जुन अहलेसम्म नेपालमा बुस्टर डोजका रूपमा लगाउन अनुमति छैन,’ शर्माले भने, ‘भेरोसिल भने पहिलो र दोस्रो डोज लगाउन छुटेकामा प्रयोग गर्न सकिन्छ, ४० लाख साइनोभ्याक विषयमा के गर्ने ? भन्ने’bout स्वास्थ्य मन्त्रालयकै तहबाट निर्णय हुनुपर्ने देखिएको छ ।’

आपूर्ति व्यवस्थापन शाखाका प्रमुख चौरसियाका अनुसार सरकारले नै स्टक खोप’bout निर्णय लिनुपर्छ । ‘हामीले स्टक रहेको खोपलाई बुस्टर डोजमा प्रयोग गर्न सक्दैनौं, ती खोपका विषयमा के गर्ने भन्ने निर्णय सरकारबाटै हुन्छ होला, छलफल भइरहेको छ,’ चौरसियाले राजधानीसँग भने ।

५ देखि १२ वर्षसम्मका बालबालिकालाई समेत गरी नेपालमा हालसम्म ५ करोड ७२ लाख ६४ हजार २ सय १ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायको तथ्यांक छ ।

बुस्टर डोजका लागि तत्कालै खोप दिन सरकारसँग खोप नभए पनि परिवार कल्याण महाशाखाले चौथो डोज खोप दिने निर्णय भने गत २० कात्तिकमै गरेको थियो ।

३० लाख डोज फाइजर ल्याइँदै
सरकारले छिमेकी मुलुकमा कोभिड–१९ संक्रमण फरकस्वरूपमा फैलिँदै गएपछि तेस्रो र चौंथो डोजका लागि अर्थात् दोस्रो र तेस्रो बुस्टर डोजमा प्रयोग गर्न ३० लाख डोज फाइजर खोप ल्याउन लागेको हो । सो खोप कोभ्याक्स सुविधामार्फत ल्याइँदै छ ।

स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख सागर दाहालले बुस्टर डोजका लागि ३० लाख फाइजर खोप ल्याउन प्रक्रिया अघि बढिसकेको जानकारी दिए । उनका अनुसार त्यसमध्ये १५ लाख डोज दोस्रो बुस्टर डोजका रूपमा प्रयोग हुने छ भने बाँकी १५ लाख पहिलो र दोस्रो मात्रा लगाएकालाई पहिलो बुस्टर डोजका रूपमा दिइने छ । दोस्रो बुस्टर मात्राका लागि ल्याइने खोप फेब्रुअरी दोस्रो सातासम्ममा आइपुग्ने बताइन्छ । सो खोप ल्याउनका लागि औषधी व्यवस्था विभागले अनुमति दिइसकेको छ ।

विभागका सूचना अधिकारी सन्तोष केसीका अनुसार आपतकालिन प्रयोगका लागि फाइजर खोपको बुस्टर डोजलाई अनुमति दिइएको हो ।

यसअघि सो खोप १२ वर्षमुनिका बालबालिकालाई पहिलो र दोस्रो डोजका रूपमा लगाइएको थियो । तर, अहिले भने एडल्ट फाइजर खोपलाई बुस्टरका रूपमा मात्रै प्रयोग गरिने छ । यसअघि भने सरकारले १८ वर्षमाथिकालाई एस्ट्राजेनेका, कोभिसिल्ड खोप बुस्टर डोजका रूपमा दिएको थियो ।

दोस्रो बुस्टर डोज ६ वटा समूह छुट्याएर दिइने छ । जसअनुसार ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोग प्रतिरोध क्षमता कम र धेरै कम भएका बिरामीहरू, दीर्घरोग भएका बिरामी, गर्भवती र स्वास्थ्यकर्मी प्राथमिकतामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *