काठमाडौँ — देशको कर्मचारी शक्तिशाली सरकारी
३० हजारको तलब, ३० वटा घरबारी
बीच बजारको सडक २० वटा खाल्डो पारी
खल्ती भारी, बैंक मारी, सात तहको अधिकारी
कसले तिर्ने सात समुद्रपारि देशको सात उधारी

र्‍याप भन्नेबित्तिकै अराजक र अश्लील भन्ने मानसिकता छ । खासमा जातीय, सामाजिक, आर्थिक र राजनीतिक विभेदविरुद्ध आक्रोशको रूपमा र्‍याप संगीतको सुरुवात भएको हो । बालेनको गीत ‘बलिदान’ ले यही प्रस्ट पार्छ ।

र्‍याप संगीतमा बालेनका रूपमा लोकप्रिय वालेन्द्र साहले देशको सत्तारूढ र प्रमुख प्रतिपक्षीका उम्मेदवारलाई विशाल मतान्तरले पछि पार्दै राजधानी महानगरको मेयरका रूपमा आफ्नो भूमिका सुनिश्चित गरेका छन् । नेतृत्वमा उनको जिम्मेवारी नयाँ हो तर राजनीति भने उनका लागि नयाँ पाठ्यक्रम होइन, उनको गीत सुन्दा यस्तै लाग्छ :

मलाई बोल्न दे सरकार, अपराध हैन

मन खोल्न दे दरबारको म श्राप होइन

मन खराब छैन, सही बोल्न डराउँदिन

कानुन पो लाग्छ कि, आवाज उठाउँदैमा

बलिदानको गीतमा मेरो शब्दको सलामी

गाउँ–गाउँबाट उठ युवा कलम थामी

गाई त बाध्यौं ढुंग्रोमा मही छैन, मही छैन

गरिबको चमेली बोल्दिने कोही छैन

र्‍याप संगीतको अपव्याख्या हुनुमा श्रोता मात्र होइन, गायकको पनि कमजोरी देख्छन् बालेन । ‘अलिकति छाडा, उत्तेजक गायो भने छिट्टै हिट बनिने लोभले त्यस्तै र्‍याप चलिरहेका छन्,’ उनको भनाइ छ, ‘जुन विषय उठाउने हो, त्योसँग जोडिने शब्द प्रयोग गर्नुपर्ने हुन्छ ।

जस्तै– कसैले सडक बालबालिकाको कथामा गीत बनाउँदै छ भने तिनीहरूले बोल्ने भाषा आइस्यो, गइस्यो भन्ने त हुन्न । तिनीहरूले मुख छाडेर बोलिरहेका हुन्छन् । उनीहरूको कथामा छाडा शब्द हाल्नुपर्छ ।’

कक्षा ९ मा पढ्दादेखि नै बालेनले र्‍याप गाउन थालेका हुन् । खासमा उनी सानैदेखि कविता लेख्न रुचाउँथे, कवितालाई र्‍याप बनाएर गाउँथे । सडक बालबालिकाको विषय समेटेर उनले सन् २०१२ र्‍याप युट्युबमा अपलोड गरेका थिए ।

म सडकमा छु, म फरक देखिन्छु

त्यो उज्यालो नपाई, म अँध्यारोमै छु ।

दिन ढल्दै जान्छ, रात पनि आउँछ

सुनौलो बिहानी जीवनमा कहिले छाउँछ ?

एक दिन हामीलाई पनि कसैले मान्छे

गनोस् न ।

घट्टेकुलोबाट ज्ञानेश्वरको विद्यालय जाँदा सडकमा देखिएका बालबालिका नै उनको सिर्जनाका स्रोत थिए । आफ्नो र सडक बालबालिकाले बोकेको झोला किन

फरक छ ? यही प्रश्न उनले आफ्नो सिर्जनाबाट सोधे :

यो संसार निर्मम, पापी र स्वार्थी

गरिबको हेलना, धनीको आरती

एक्लो विचलित, हिँडिरहेछु बाटोमा

ज्यान थापी हत्केलामा, दुई छाकको साटोमा

चाहन्छु म पनि फुल्न, फूलजस्तै फक्रेर

धेरैचोटि उडिसकें, धेरैपल्ट भत्केर

लेखपढ गरेर, मलाई नि ठूलो बन्नु छ

कलाकारका गीतले चेतना मात्र फैलाउँदैनन्, विवाद पनि सिर्जना गर्छन् । स्वयं बालेनका कतिपय गीतमाथि सामाजिक सञ्जालमा असन्तुष्टि पनि पोखिएको छ । तर, उनका समकक्षी र्‍यापरहरू बालेनको लेखनबाट निकै प्रभावित छन् । ‘बालेनको लेखनबाट म प्रभावित नै थिएँ । तिमी फूल माग्छौ, म काँडा पनि दिन सक्दिनँ शीर्षकका र्‍याप साह्रै राम्रो लाग्छ,’ र्‍यापर मानस घले भन्छन्, ‘बालेन एक यथार्थवादी र्‍यापर जो फरक, कलात्मक र अन्डरग्राउन्ड शैलीको र्‍याप गाउँछन् ।’

सँगसँगै करिअर सुरु गरेका अर्का र्‍यापर एमसी फ्लो पनि बालेनलाई ‘सबैले मन पराउने र्‍यापर’ का रूपमा चर्चा गर्छन् । रबाजको ब्याटलमा बालेनको परिचय दिँदै दिवंगत र्‍यापर यम बुद्धले भनेका थिए, ‘एक प्रतिभाशाली र भर्सटाइल र्‍यापर ।’

सन् २०१३ मा र्‍याप ब्याटलमा यम बुद्धले बालेनलाई बोलाए जसमा उनी विजेता भए । त्यसपछि ‘आम नेपाली बुबा’ (२०१३), ‘तथ्य’ (२०१३), ‘ओइ बूढा सरकार’ (२०१४), ‘नेपाल हाँसेको’ (२०१५), ‘मन यो उड्यो’ (२०१६) लगायतका र्‍याप सार्वजनिक गरे । उनका यी गीतमा राजनीतिक सरोकार र आलोचना भेटिन्छ । ‘आम नेपाली बुबा’ मा उनले बुबाहरूको पीडालाई पोखेका छन्–

‘छोरा गर्छ हेला मलाई,

केही दिन सकिन रे ।

बूढी जान्छ मुटु जलाई,

लायक श्रीमान् होइन रे ।

हाकिम मलाई हेप्ने गर्छ,

थुक्क पाजी भनेर ।

नेताहरूले छेक्ने गर्छ, देऊ चन्दा गनेर…’

र्‍यापमा चर्चा कमाइरहेकै बेला बालेन सिभिल इन्जिनियरिङमा स्नातक सकेर सन् २०१६ देखि तीन वर्षसम्म स्ट्रक्चरल इन्जिनियर पढ्न बैंग्लोर पुगे । यो उनको व्यक्तिगत निर्णय थियो । ‘परिवारले त बरु म्युजिक नै गर्न सुझाउनु हुन्थ्यो । इन्जिनियरिङ मेरो चाहनाले नै गरेको हुँ,’ नेपाल फर्किएपछि उनले भनेका थिए । महोत्तरीबाट काठमाडौं प्रवेश गरेका उनका बुबा आयुर्वेद स्वास्थ्यकर्मी हुन् ।

बैंग्लोरमा पनि वालेनले पढाइ सँगसँगै र्‍याप लेख्न छोडेनन् । स्नातकोत्तर सकेर २०१८ मा फर्किएसँगै उनले त्यतिबेला लेखेका गीतहरू रेकर्डिङ गर्न थाले । र्‍यापसँगै उनले बालेन कन्सल्टिङ एन्ड कन्स्ट्रक्सन खोलेर इन्जिनियरिङ पेशा पनि चलाए । त्यसयता ‘मार्फाको मदिरा,’ ‘गोर्खाली टोफ,’ ‘बलिदान,’ ‘स्यावेज,’ ‘लोकल ठिटो’ लगायतका गीत बजारमा ल्याए । त्यसमध्ये ‘बलिदान’ लाई दर्शकले अत्यधिक रुचाइदिए ।

युट्युबमा ३० लाख बढी भ्युज भएको यस गीतमा नेताहरूले लुटेर खाएको, सबै मिलेर देश बाँडेर खाएको भन्दै नेतृत्वहरूको तिखो आलोचना गरिएको छ । ‘नाङ्ग्रेस, नेमाले, नाउवादी’ जस्ता प्यारोडी शब्दमार्फत उनले प्रमुख दलहरूमाथि प्रहार गरेका छन् ।

संगीतसँगै राजनीतिक चेत बोकेका बालेनले पाँच वर्षयता अन्तर्वार्ताहरूमा आफूले राजनीतिमा प्रवेश गर्ने छाँटकाँट देखाइसकेका थिए । ‘मेरो विचारमा स्वास्थ्यमन्त्री डाक्टर होस् । भौतिक पूर्वाधारका क्षेत्रमा इन्जिनियर होस् । पढे–लेखेको मानिसले यस्तो क्षेत्रमा आफ्नो भाग खोज्न सक्नुपर्‍यो,’ उनले भनेका थिए, ‘जस्तै– मैले सिभिल इन्जिनियरिङमा स्नातक गरें, मलाई बाटो, घरहरू बनाउन आउँछ । स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स गरें, मलाई अग्ला घरहरू बनाउन आउँछ । मजस्तो मान्छे उठ्नुपर्‍यो अनि जनताले भोट दिनुपर्‍यो । जे पढेको छ, त्यसैमा राजनीतिक हिसाबले अगाडि बढ्न सक्यो भने देशलाई अगाडि बढाउन सकिन्छ भन्ने लाग्छ मलाई ।’

बालेनले आफू स्ट्रक्चरल इन्जिनियर भएकाले मेयरका लागि योग्य भएको बताउँदै आएका थिए । ‘मलाई अरूले पनि हिपअपमा लागेको, सिभिल इन्जिनियरिङ/ स्ट्रक्चरल इन्जिनियरमा लागेको मान्छे किन यता भनेर भन्दै आएका थिए । तर, कुनै पनि पालिकाको बजेट अनि त्यहाँको व्यवस्थापन हेर्नॅभयो भने प्रायः सिभिल इन्जिनियरिङ टर्मिनोलोजीहरू हुन्छन् । त्योचाहिँ लगभग सातै प्रदेशका लागि अस्पताल, विद्यालय, पुल, बाटोलगायत महिला बालबालिकाका लागि काम गर्दा मेयरमा सिभिलाइजेसनकै लागि काम गरिरहेको व्यक्ति उपयुक्त हुन्छ भन्ने लाग्यो,’ उनले मेयर उठ्ने घोषणालगत्तै कान्तिपुरसँगको अन्तर्वार्तामा भनेका थिए, ‘सिभिल भनेको सिभिलाइजेसनको इन्जिनियरिङ हो नि ।’

बालेनको दाबीलाई राजधानीका मतदाताले अनुमोदन गरिदिएका छन् । अब जनता खुसी पार्न काठमाडौंलाई अहिलेको भन्दा राम्रो बनाउन सल्लाह दिन्छन् र्‍यापर एम्सी फ्लो । ‘उनलाई शुभकामना भन्न चाहन्छु । जनताले जसरी उनलाई आशाको किरण मानेका छन्, त्यहीअनुसारले काम गरेर अबको पाँच वर्ष अहिलेको भन्दा राम्रो काठमाडौं बनाउनेछन् भन्ने विश्वासमा छु,’ उनले भने ।

र्‍यापर गिरीश खतिवडा बालेनलाई अब र्‍यापरभन्दा पनि मेयरका रूपमा हेर्नॅपर्ने बताउँछन् । ‘र्‍यापरको हिसाबले बालेन एकदमै राम्रो हो । उनको र्‍यापको फ्लो, शब्द र पोइट्री राम्रो लाग्छ । युवा प्रतिनिधि जसले आँट गरिरहेको थियो, उसलाई जनताले भोट दिए । देशले हिरो पाएको हो’ गिरीश भन्छन् ।

आम जनता र विशेषगरी युवाको आशाको केन्द्र बनेका वालेन्द्रका लागि निर्वाचन सकिएको छ, तर उनको असली परीक्षा बल्ल सुरु हुँदै छ । उनी र उनीजस्ता जनप्रतिनिधिको सफलता वा असफलताले नेपालको मूलधारको राजनीति परिवर्तन हुने वा यस्तै रहने भन्ने पनि निश्चित गर्नेछ ।

चाहन्छु म पनि फुल्न, फूलजस्तै फक्रेर

धेरैचोटि उडिसकें, धेरैपल्ट भत्केर

लेखपढ गरेर, मलाई नि ठूलो बन्नु छ

एक दिन हामीलाई पनि कसैले मान्छे

गनोस् न इकान्तिपुरबाट