जुम्ला । कर्णालीलगायत हिमाली तथा उच्च पहाडी क्षेत्रमा विरही बिम्बका रूपमा न्याउली चरी परिचित छ । चैत, वैशाख र जेठ महिनामा उराठलाग्दा वनपाखामा न्याउली चरीको विरही धुन सुनिन्छ । मनको विरह पोख्ने खालको नेपाली लोक गीत र संगीतमा न्याउली चरीको प्रसंग जोडिएर आएको पाइन्छ । स्थानीय हस्तना न्यौपाने न्याउलीसँग जोड्दै आफ्नो मनको विरह जुम्ली ठाडीभाकामा यसरी पोख्छिन् ः

हुकुम दारी ब्याउलो, रतेडी खेल्दिएई भुन्नो
चरी दुःखी न्यालो, मान्छे दुःखी म जन्म्या छु

न्याउली चरीको प्रसंग जोडेर कर्णालीमा ठाडीभाकामार्फत विरह पोख्ने गरिन्छ । न्याउलीको आवाजलाई भावुकता र दुःखसँग जोडेर हेर्ने गरिन्छ । गहिरो दुःख, टाढिएका आफन्त, छुटेको प्रेम, विवाह गरेर गएका छोरी–चेली तथा परदेसिएका छोराहरूसँगको विषयलाई न्याउलीको विरहसँग जोड्ने गरिएको छ । न्याउली चरीको विरही धुनपछाडि एउटा रोचक कथा पनि लुकेको छ । न्याउलीको खास कथा आमा र छोराबीच गाँसिएर आउने गर्छ । चैत, वैशाख र जेठ महिनाबाहेक अन्य मौसममा न्याउलीको आवाज सुनिँदैन ।

उजाड र टन्टलापुर घाममा वनपाखा डुल्दा सुनिने न्याउलीको विरही पोख्ने धुनले सबैलाई भावुक बनाउँछ । अचम्म लाग्दो यो छ कि न्याउली चरीको जोडी एउटै रूखमा कहिल्यै देखिँदैनन् । फरक रूखमा बस्ने दुवै न्याउली चरीले भिन्नभिन्न आवाज निकाल्छन् ।

न्याउलीको धुन’bout पाका पुस्तासँग रोचक कथा झुन्डिएको छ । स्थानीय भीम अधिकारी न्याउलीको लोककथा यसरी सुनाउँछन्, ‘सत्य युगमा एक परिवारमा कडा स्वभावकी सासु थिइन् । उनले बुहारीलाई मेलामा काम नसकी घर नआउन उर्दी दिएकी थिइन् । घरमा दुधेछोरा छोडेर काममा निस्किएकी बुहारी काम नसकिँदासम्म घर फर्कन सकिनन् । भोकले छोरा रुन थाल्यो, उसको रुवाइको गर्जन आमाको कानसम्म पुग्यो, सासुको डरले घर फर्कन नसकेकी बुहारीले पख ! पख ! भनेर बच्चालाई सान्त्वना दिइन् । धैर्यताको बाँध टुटेपछि छोराको शरीरमा पखेटा पलायो । ऊ रुँदै आमा खोज्दै रूखरूखमा बस्न थाल्यो । तर, आमा पख ! पख ! भन्दै काममा जोतिरहिन् । आमा पनि शरीरमा पखेटा हालेर छोरा खोज्न थालिन् तर उनीहरूको कहिल्यै भेट नभएको जनविश्वास छ । त्यसैले एउटै रूखमा न्याउली चरीको जोडी कहिल्यै देखिँदैन । यसरी आमा छोरा न्याउली चरी बन्न पुगे ।’

न्याउली चरीसँगको लोक कथा सुनेरै पनि आफ्नो सन्तान भोकाएको बेला दूध खुवाउन विलम्ब हुँदा एउटी आमाको मन कस्तो हुन्छ होला ? हामी कल्पनासमेत गर्न सक्दैनौं । पछिल्लो समय न्याउली चरी देख्ने र यसको ’boutमा थाहा पाउने कम छन् ।

जलवायु परिवर्तनको असरसँगै देशभर न्याउली चरीको संख्या घट्दै गएको चरा विज्ञ बासु बिडारी बताउँछन् । ‘प्रायः चराहरू जलवायु परिवर्तनको असरले लोप हुँदै छन्, न्याउली चरी पनि यसबाट अछुतो छैन,’ उनले भने ।

न्याउली चरीको लोककथा अलिखित रूपमा पुस्ता हस्तान्तरण भइरहनु निकै सोचनीय छ ।राजधानी दैनिक बाट