सर्लाही । सर्लाहीका एक युवाले विना दाइजो आदर्श विवाह गरेका छन् । सर्लाहीको पर्सा गाउँपालिका वडा नं.४ कविलासीका यूवा डाक्टर अनिल कुमार यादवले विना दाइजो विवाह गरेका हुन् । तराईमा दाइजो प्रथा व्याप्त छ । यहाँ विना दाइजो त विवाहको कल्पनै गर्न सकिँदैन । यस्तो बेला दाइजो विना विवाह गर्नु भनेको सिङ्गो समाजलाई नै चुनौती दिनु हो । डा. अनिलले विना दाइजो आदर्श विवाह गरेर दाइजो प्रथालाई चुनौती दिएका छन् ।

अनिल भर्खरै एमविविएस सक्काएर बसेका युवा हुन् । उनी पर्साका जमिन्दार सत्यनारायण यादवका छोरा हुन् । घरमा विवाहको कुरा चलेपछि विना दाइजो आदर्श विवाह गर्ने सहमतिमा मात्रै उनी विवाह गर्न राजी भएका थिए । उनले महोत्तरीको सोनमा गाउँपालिका ६ का संजय कुमार यादवकी छोरी आरती यादवसँग आदर्श विवाह गरेका हुन् । आरती यादव पनि ल्याब टेक्निसियन अर्थात स्वास्थ्य क्षेत्रमा नै काम गर्दै छिन् ।

‘छोराको चाहाना अनुसार नै हामीले आदर्श विवाह गराएका हौं । हामीलाई लाउन खान नपुग्दो छैन ।’ डा. अनिलका बुवा सत्यनारायण भन्छन्, ‘दाइजो प्रथाले हाम्रो समाजलाई कहिल्यै हित गर्दैन । त्यसैले पूरै समाज यसको विरुद्ध लाग्नै पर्छ ।’

बेहुलाका काकी जसपाकी केन्द्रीय सदस्य मिना यादव पनि यो आदर्श विवाहबाट आफूहरुले समाजलाई दाइजो प्रथा विरुद्ध एक जुट हुन शिक्षा दिन खोजेको बताउँछिन् । छोरीलाई दाइजो हैन उचित शिक्षा, दिक्षा दिनुपर्छ भन्दै उनले दाईजो प्रथाले कसैको हित नहुने बताईन् ।

बेहुली लिन हेलिकप्टर चाटर्ड

डा.अनिलले बेहुली लिन जाँदा हेलिकप्टर चाटर्ड गरेर लगेका छन् । उनले बुवा आमाको चाहाना बमोजिम हेलिकप्टर चाटर्ड गर्नु परेको बताए । ‘म विवाहमा फजुल खर्च गर्नु हुन्न भन्ने पक्षमा छु । दाइजो प्रथाको पनि विरोधी हुँ । त्यसैले मैले आदर्श विवाह रोजें ।’ उनी भन्छन्, ‘मेरो बुवा आमाको चाहाना थियो कि, मेरो छोराको विवाहमा हेलिकप्टर चाटर्ड गर्छु । मैले नकार्न सकिन ।’

डा. अनिलले बिना दाइजो आदर्श बिवाह गरेपछि उदाहरणीय तथा सराहनीय कार्य गरेको भन्दै चौतर्फी प्रंशंसा भैरहेको छ ।
‘दाईजो प्रथा एक कुप्रथा हो, कसैले स्वच्छाले दिने गर्दछ त कतिले कर कापले नै, कारण कतिपय महिलाले दाइजोकै कारण मृत्यु समेत भोग्नु परेको छ ।’ आफनो भतिजोलो कुप्रथा चिर्दै आदर्श बिवाह रोजेपछि आफु खुसीले गदगद भएको नेपाल टेलिकम त्रिपुरेश्वर काठमाडौंमा कार्यरत ईन्जिनियर बिनोद कुमार यादवले बताए । उनले दाईजो लिने र दिनेलाई आवश्यक कानुनी कार्वाही गर्न जरुरी भएको बताए ।राजधानी दैनिक बाट