काठमाडौं । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको आउँदै गरेको मतपरिणामले दलहरूको स्थानीय तहको विगतको हैसियत नै अदलबदल गरिदिएको छ । २०७४ को स्थानीय तहमा पहिलो दल बनेको नेकपा एमाले यसपटकको स्थानीय तहको निर्वाचनको हालसम्म प्राप्त मत परिणामअनुसार दोस्रो स्थानमा झर्ने देखिएको छ ।

यस्तै, यसअघि दोस्रो दलको हैसियतामा रहेको दल नेपाली कांग्रेस यसपटक एक स्थानमाथि उक्लिएर पहिलो दल बन्ने सुनिश्चित भइसकेको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेले २ सय ९४ स्थानीय तहमा प्रमुख-अध्यक्षमा जित निकालेर पहिलो दल बनेको थियो भने कांग्रेस २ सय ६६ स्थानीय तहमा प्रमुख÷अध्यक्षमा जित निकाल्दै दोस्रो बनेको थियो । यसैगरी, नेकपा माओवादी केन्द्र त्यसबखत १ सय ६ स्थानमा प्रमुख÷अध्यक्ष जित निकालेर तेस्रो हैसियतमा रहँदा संघीय समाजवादी फोरम र मधेसवादी दलका रूपमा रहेको जसपालगायतका दल त्यसपछिको हैसियतमा थिए ।

– माओवादीलाई ‘बोनस’ मधेसवादीलाई धक्का

– एमालेको हैसियत खस्कियो

२०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले ३४ स्थानीय तहमा प्रमुख÷अध्यक्षमा जित हात पारेको थियो । त्यसबखत सो दल स्थानीय तहमा चौंथो बनेको थियो ।

यस्तै, तत्कालीन राजपा नेपालले २५ स्थानीय तहमा प्रमुख-अध्यक्षमा जित निकाल्दा तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकले पाँच स्थानीय तहमा प्रमुख÷अध्यक्षमा जित हात पारेको थियो । सो दल अहिले नेपाली कांग्रेससँग एकता गरिसकेको छ ।

यसपटकको निर्वाचनमा भने कांग्रेसले आफ्नो हैसियतमा सुधार गर्दा एमालेलाई धक्का पुगेको छ । कांग्रेस सत्ता गठबन्धनमा रहेर निर्वाचनमा होमिँदा विभाजनमा परेको एमालेलाई त्यसको असरले क्षति पु¥याएको छ भने गठबन्धनमै रहेको दल माओवादी केन्द्रले पुरानो हैसियतलाई सुधार गरी तेस्रो स्थानलाई सुरक्षित गर्दै अंक बोनस थपेको छ । यस्तै, मधेसवादी दलहरू यसबीचमा भएको टुटफुटले छिन्नभिन्न हुँदा त्यसको असर अहिलेको स्थानीय तहको परिणाममा देखिँदै गएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन सफल भएको बताए । बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको भनेका हुन् ।

‘स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धन सफल भयो, गठबन्धनभित्र आंशिक रूपमा कमीकमजोरी भए पनि त्यसलाई हामी सच्याउँछौं, समीक्षा गर्छौं,’ पौडेलले भने ।

बिहीबार राति अबेरसम्मको परिणामअनुसार कांग्रेसले ७ सय ५३ स्थानीय तहमध्ये २ सय ६७ स्थानीय तहमा प्रमुख÷अध्यक्षमा जित हात पारेको छ भने ५६ स्थानीय तहमा अग्रता लिएको छ । यो अग्रता हेर्दा कांग्रेसले ३ सय १५ भन्दा बढी स्थानीय तहमा जित निकाल्ने देखिएको छ ।

यस्तै, नेकपा एमालेले १ सय ६८ तहमा प्रमुख÷अध्यक्षमा जित हात पार्दा ३० स्थानीय तहमा अग्रता लिएको छ । यो अंक हेर्दा स्थानीय तहमा एमालेले विगतभन्दा करिब ९० देखि ९५ स्थानीय तह गुमाउने देखिएको छ ।

यसैगरी, विगतको स्थानीय तह निर्वाचनमा १ सय ६ तह जित्दै तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रले भने विगतको हैसियतलाई अंकमा बढाएर तेस्रो स्थानलाई सुरक्षित गर्ने पक्का भइसकेको छ । बिहीबार रातिसम्मको परिणामअनुसार माओवादी केन्द्रले १ सय ७ वटा स्थानीय तहमा जित निकालिसकेको छ भने १३ स्थानीय तहमा अग्रता लिएको छ ।राजधानी दैनिक बाट