काठमाडौं । नयाँ बजेट सार्वजनिक हुने दिन आउन अब जम्मा ११ दिन मात्र बाँकी रहेको बेला अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९÷८० का लागि सार्वजनिक हुने बजेट लेखनको चटारोमा जुटेको छ । जसका लागि अहिले बजेट लेखनमा खटिएका विज्ञहरूको समूह बजेटका नारा लेख्नमा नै व्यस्त छन् । आगामी १५ जेठमा संसदमा ् प्रस्तुत हुने बजेटको सिलिङ झन्डै साढे १७ खर्ब रुपैयाँ अंक टुंगो लागेको छ ।

यससँगै अर्थ मन्त्रालय अहिले बजेट भाषण लेखनमा जुटेको हो । यसअघि बजेट लेखन समितिमा रहेकाहरूलाई सुझावसहित राष्ट्रिय योजना आयोगले पनि आगामी आवको बजेटका लागि १७ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याउन सिलिङ अर्थ मन्त्रालयलाई पठाएको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी आवको बजेटलाई जनमुखी बनाउन सक्दो प्रयास गरिएको छ ।

सो क्रममा बढी प्राथमिकता दिइने क्षेत्रमा आकर्षक नारा लेख्न विज्ञ समूह नै खटाइएको हो । आगामी बजेट निजी क्षेत्रलाई विशेष ‘फोकस’ गरी ल्याइने अर्थमन्त्री जर्नादन शर्माले बताइसकेका छन् । उनले यसपालिको नयाँ बजेटमा ‘करको दर होइन दायरा बढ्छ’ भनेर निजी क्षेत्रलाई रिजाउने प्रयास गरिरहेका छन् । सोही कारण अर्थ मन्त्रालय स्रोतले पनि आगामी बजेट ‘कृषि, रोजगार, श्रमजस्ता क्षेत्र बजेटको प्राथमिकतामा राखेर ल्याउने बताएको छ । यस्ता क्षेत्रमा नारा लेख्न विज्ञ समूहले काम गर्दै रहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार आगामी बजेटमा यस्ता नारासहित समावेश गरी अब बजेट भाषणलाई अन्तिम रूप दिने काम सुरु भएको छ । अर्थमन्त्री शर्माको सचिवालयका एक सदस्यका अनुसार पनि नयाँ बजेटलाई अन्तिम रूप दिने क्रममा मन्त्रालयमा बजेट लेखनमा खटिएको मुख्य समूह अर्थको सम्बन्धित विषय हेर्ने महाशाखा प्रमुख र आवश्यक पर्दा विभागीय मन्त्रालयका सचिवसमेतलाई बोलाएर अर्थमन्त्री स्वयंले बजेट हेरिरहेका छन् । आगामी ‘बजेटको कुल अंक तय भइसकेको छ, अब केही कार्यक्रम चल्न सक्छन्’ अर्थमन्त्रालय स्रोतले भन्यो ।

केही लोकप्रिय जनमुखी कार्यक्रम ल्याउन बजेटका बुँदा चलाउँदा मन्त्रालय असन्तुष्ट नबनून् भनेर विभागीय मन्त्रालयका सचिवलाई बोलाएर बजेट फाइनल गर्ने काम भइरहेको छ अर्थ मन्त्रालय स्रोतले जनाएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार विज्ञ समूहले सम्बन्धित विषयमा दिएका नारालाई बजेट भाषणमा राखिनेछ ।

यसपालिको बजेट लेखनका लागि मुख्य समूहको नेतृत्व अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखा प्रमुख भुपाल बरालले गरिरहेका छन् । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख चक्रबहादुर बुढा, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख ईश्वरी अर्याल, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश आचार्य र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख बाबुराम सुवेदी सो समूहमा छन् ।

यस समूहले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता तयार पारेको हो । त्यो मंगलबार नै संसद्मा पेस भएको थियो । अझै यो बजेट लेखन समूहलाई मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्रकुमार उप्रेती, राजस्व सचिव कृष्णहरि पुष्कर, अर्थसचिव मधुकुमार मरासिनी र अर्थमन्त्री शर्मा स्वयंले सहजीकरण गरिरहेका छन् ।

जसका लागि प्रधानमन्त्री कार्यालयबाट समेत सहजीकरण भइरहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । आगामी बजेटमा प्रधानमन्त्रीको तर्फबाट सहयोग गर्न प्रधानमन्त्री कार्यालयबाटै समेत एक समूह अर्थ मन्त्रालयमा खटिएको छ । सो समूहले समेत बजेटमा सहयोग गरेको छ । प्रधानमन्त्री स्वयंलाई समेत बजेट’bout ब्रिफिङ गर्न सुरु गर्ने तयारी अर्थ मन्त्रालयको छ ।

प्रधानमन्त्रीलाई बिफ्रिङ गरेपछि भने बजेट लेखनको अन्तिम चरणको काम पूरा हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । यसपटक कृषि, आन्तरिक उत्पादन र गाउँ केन्द्रित कार्यक्रममा जोड दिएर बजेट आउने मन्त्रालयको दाबी छ । कृषकलाई अनुदान, स्वदेशी उद्योग खोल्न प्रोत्साहन गर्दै रोजगारी सिर्जनाका कार्यक्रम बजेटमा समेटिने बताइएको छ ।

राष्ट्रिय योजना आयोगले दिएको सिलिङभित्र नै रहेर आगामी आवका लागि झन्डै साढे १७ खर्ब रुपैयाँको बजेट निर्माण हुँदै छ । जसका लागि मंगलबारदेखि सुरु भएको बजेट अधिवेशनमा प्रतिनिधिसभा बैठकमा आव २०७९-८० को विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी छ। राजधानी दैनिक बाट