काठमाडौं । स्थानीय तहको देशैभरि निर्वाचन सम्पन्न भएर मतगणना जारी छ । प्रारम्भिक मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दल विभाजन हुनुको फाइदा नेपाली कांग्रेसलाई भएको छ ।

गत २०७४ को स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार कम्युनिस्ट पार्टी र मधेसवादी दलको अवस्था बलियो थियो । तर, २०७९ मा भएको स्थानीय तहको प्रारम्भिक मतपरिणामअनुसार कांग्रेसको अवस्था बलियो भएको देखिन्छ ।

प्रारम्भिक मतपरिणामअनुसार कांग्रेस सबैभन्दा ठूलो देखिन्छ । कांग्रेसभन्दा बलियो रहेको एमाले यो स्थानीय तह निर्वाचनबाट धेरै कमजोर बन्ने देखिन्छ । कम्युनिस्ट पार्टी विभाजन हुनुको प्रभाव मतपरिणाममा समेत देखिन्छ । यस्तै, मधेसवादी दल विभाजनको प्रभावसमेत सो दलमा परेको छ ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी गठन भएपछि त्यसको प्रभाव मतपरिणाममा समेत देखिन्छ । नेकपा हुँदा स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सबै ठाउँमा सबैभन्दा ठूलो रहेको थियो । तर, नेकपा विभाजन भएर तीन छुट्टाछुट्टै पार्टी गठन भएपछि त्यसको प्रभाव मतपरिणाममा समेत देखिएको राजनीतिक विश्लेषक कृष्ण पोखरेलले बताए ।

मधेसवादी दल पनि कमजोर
कम्युनिस्ट पार्टी विभाजनको फाइदा जसरी कांग्रेसलाई मिलेको छ मधेसवादी दल विभाजन हुँदासमेत त्यसको फाइदा कांग्रेसलाई नै मिलेको छ । प्रारम्भिक मतपरिणामअनुसार गत निर्वाचनभन्दा मधेसवादी दल यो निर्वाचनमा कमजोर भएको देखिन्छ ।

२०७४ को स्थानीय तह निर्वाचनबाट तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हाल जसपा)सँग ३४ पालिकामा प्रमुख÷अध्यक्ष र ३२ उपप्रमुख÷उपाध्यक्ष रहेको थियो । तर, २०७९ को स्थानीय तह निर्वाचनको प्रारम्भिक मतपरिणामअनुसार जसपा अहिलेसम्म प्रमुख÷अध्यक्षमा विजयी भएको छैन भने २९ पालिकामा मात्रै अगाडि रहेको छ । अगाडि रहेको पालिका विजयी हुँदा जसपासँग २९ प्रमुख÷अध्यक्ष मात्रै हुनेछ ।

यस्तै, गत निर्वाचनमा ३२ पालिकामा उपप्रमुख÷उपाध्यक्ष विजयी भएको जसपा २ पालिकामा मात्रै विजयी भएको छ । २७ पालिकामा उपप्रमुख÷उपाध्यक्षतर्फ अगाडि रहेको छ । विजयी र अगाडि भएको पालिकाको संख्या जोडदा उपप्रमुख र उपाध्यक्षको २९ मात्रै हुन्छ ।

यस आधारमा जसपालाई २०७४ को निर्वाचन भन्दा २०७९ को स्थानीय तह निर्वाचनमा प्रमुख÷अध्यक्ष तर्फ ५ र उपाध्यक्ष÷उपप्रमुख तर्फ ३ घाटा (कम) हुने देखिन्छ ।

यस्तै, तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) हालको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले २०७४ को स्थानीय तह निर्वाचनमा प्रमुख÷अध्यक्ष २५ र ३० उपप्रमुख÷उपाध्यक्ष विजयी भएको थियो ।

तर २०७९ को स्थानीय तह निर्वाचनमा लोसपाले १२ पालिकामा प्रमुख÷अध्यक्ष र नौ उपप्रमुख÷उपाध्यक्ष अगाडि रहेको देखिन्छ । अगाडि भएको पालिकामा विजयी हुँदा लोसपासँग १२ प्रमुख÷अध्यक्ष र नौ उपप्रमुख÷उपाध्यक्ष मात्रै हुन्छ ।

मधेसवादी दल विभाजनको फाइदा कांग्रेससहित सिके राउत नेतृत्वको जनमत पार्टीलाई भएको देखिन्छ । मधेसका जिल्लामा कतिपय पालिकामा जसपा र लोसपा विजयी भएको पालिकामा कांग्रेस र जनमत पार्टीले विजयी हुने प्रारम्भिक मतपरिणामले देखाउँछ ।

के भन्छन् राजनीतिक विश्लेषक ?
कुनै पनि राजनीतिक दल विभाजन भएपछि त्यसको प्रभाव निर्वाचनको मतपरिणाममा पर्ने निश्चित भएको राजनीतिक विश्लेषक कृष्ण पोखरेलले बताए । नेकपा हुँदा प्रतिनिधिसभा, प्रदेशसभादेखि लिएर स्थानीय तहसम्म सबै ठाउँमा सबैभन्दा ठूलो र बलियो दल रहेको उनले बताए ।

नेकपा जसरी विभाजन भएर तीनवटा पार्टी भयो त्यसैगरी मधेसवादी दलसमेत विभाजन भएर तीनवटा पार्टी भएका छन् । जसपा विभाजन भएर जसपा, लोसपा र तमलोपा भएको छ । पोखरेलले यी दुवै पार्टी विभाजन हुनुको फाइदा अन्य प्रतिस्पर्धी दलमा हुन गएको बताउँछन् ।राजधानी दैनिक बाट