माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले एमाले छाडेका घनश्याम भुसालपछि अर्का नेता वामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने तयारी गरेकाे छ । गाैतम मात्र हाेइन, एकीकृत समाजवादीले एमाले नेता भीम रावलसँग पनि संवाद जारी राखेको छ ।
एकीकृत समाजवादीमा प्रवेशका लागि गाैतम राजी भइसकेका छन् भने रावल पनि सकारात्मक रहेकाे बताइन्छ । गौतमलाई कार्यकारी अधिकारसहित वरिष्ठ उपाध्यक्ष दिने अध्यक्ष नेपालको तयारी छ ।

त्यस्तै, हालका महासचिव वेदुराम भुसाललाई उपाध्यक्षमा बढुवा गरेर घनश्याम भुसाललाई महासचिवकाे जिम्मेवारी दिने तयारी छ । भीम रावलसँग पनि कुरा मिले उनलाई समेत उपाध्यक्ष दिनुपर्ने अवस्थामा नेपाल छन् ।

यसअघि पुस ३० गते बसेको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यको जिम्मेवारी दिएको थियो । उनलाई अब बस्ने बैठकले महासचिवको जिम्मेवारी दिने सम्भावना रहेको बताइन्छ ।