धनगढी । सुदूरपश्चिम प्रदेशको धनगढीमा डिजिटल संवाद ४.० आयोजना भएको छ । आइसिटी फाउन्डेसन नेपालको आयोजनामा सोमबार धनगढीमा डिजिटल सुदूरपश्चिम संवाद इन एशोशिएसन विथ फोनपे सम्पन्न भएको हो ।
सोमबार भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीको उपस्थिति रहेको थियो ।
यस्तै कार्यक्रममा सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष मोहन देव विष्ट र सदस्य प्रा. डा. जगत बहादुर सिंह रावल, सामाजिक विकास मन्त्रालयका कार्यवाहक सचिव गणेश बहादुर सिंह, घोडाघोडी नगरपालिकाका मेयर खड्क बहादुर रावत, कैलारी गाउँपालिकाका अध्यक्ष राज समाज चौधरी, क्यान महासंघका उपाध्यक्ष हर्क सेठीको सहभागीता थियो ।
यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डीएसपी भरत चौधरी, क्यान महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष धन बहादुर बोगटी र सचिव नरेश धामी, स्पा एकेडेमीका प्रमुख योग राज उपाध्याय, नेपाल टेलिकमका प्रदेश प्रमुख बालाराम जोशी लगायतको समेत उपस्थिति रहेको थियो ।
डिजिटल संवादमा प्रदेशको डिजिटल अवस्था बारे प्रदेश सरकार, जनप्रतिनिधि, सरोकारवाला र सरकारी तथा गैर सरकारी निकायका प्रतिनिधिबीच वृहत छलफल भएको छ । संवादमा २ वटा कार्यपत्र प्रस्तुत भएका थिए ।
कार्यक्रममा मुख्य वक्ता समेत रहेका योङ इन्नोभेसनका सीईओ विभुषण विष्टले सुदूरपश्चिम प्रदेशको डिजिटल क्यापाबिलिटी परिदृश्य बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
यस्तै आइसिटी फाउन्डेसन नेपालका हरिराम रिमालले सुदूरपश्चिम प्रदेशको डिजिटल क्यापाबिलिटी बारे कार्यपत्र प्रस्तु गरेका थिए ।
संवादमा सुदूरपश्चिम प्रदेशको डिजिटल क्षमताका विषयमा प्यानल सेसन समेत भएको थियो । सेसनमा वक्ताको रूपमा घोडाघोडी नगरपालिकाका मेयर खड्क बहादुर रावत सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगका सदस्य प्रा. डा. जगत बहादुर सिंह रावल, योङ इन्नोभेसनका सीईओ विभुषण विष्ट, नास्ट कलेज धनगढीका प्रिन्सीपल प्रा.डा. प्रेम बहादुर चन्द र क्यान महासंघका उपाध्यक्ष हर्क सेठी सहभागी थिए । प्यानलको सहजीकरण आइसिटी फाउन्डेसन नेपालका अध्यक्ष राजन लम्सालले गरेका थिए ।
यसअघि कोशी, मधेस र बागमती प्रदेशमा डिजिटल संवाद आयोजना भइसकेको छ । सुदूरपश्चिम प्रदेशपछि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा डिजिटल संवाद आयोजना हुँदैछ ।
सातै प्रदेशमा डिजिटल संवाद आयोजना भएपछि समग्र प्रदेशको डिजिटल अवस्था समेटिएको अनुसन्धानमा आधारित पुस्तक ‘डिजिटल प्रदेश परिदृश्य २’ समेत प्रकाशन हुनेछ ।
त्यसपछि ग्रान्ड प्रोग्रामको रुपमा असार ८ र ९ गते काठमाडौंमा ‘डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना हुनेछ । गत वर्षदेखि डिजिटल संवादसहित कन्क्लेभ कार्यक्रम सुरु भएको थियो ।
डिजिटल संवादमा निःशुल्क सहभागी हुन सकिन्छ । त्यसका लागि www.digitalsamvad.org मा गएर रजिष्टर गर्न सकिने छ ।