काठमाडौं, वैशाख २५
नेपालका लागि संघीय गणतन्त्र अस्ट्रियाका अवैतनिक बाणिज्यदूत राजेशबाबु श्रेष्ठ अस्ट्रियाका राष्ट्रपतिबाट विभूषित हुनुभएको छ । नेपालमा रहेर मित्रराष्ट्र अस्ट्रियाका लागि गरेको सेवाबापत श्रेष्ठले राष्ट्रपतिबाट प्रदान गरिने प्रतिष्ठित विभूषण ‘डेकोरेसन अफ अनर इन सिल्भर’ पाउनुभएको हो । यो अस्ट्रिया राज्यले प्रदान गर्ने सम्मान हो ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको समुपस्थितिमा नेपालका लागि गणतन्त्र अस्ट्रियाका राजदूत क्याथरिना विजरले श्रेष्ठलाई विभूषण हस्तान्तरण गर्नुभएको हो । यसअघि सन् २०१३ मा नेपालका लागि अस्ट्रियाका तत्कालीन अवैतनिक बाणिज्यदूत स्व.लक्ष्मणबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारले ‘डेकोरेसन अफ अनर इन गोल्ड’बाट विभूषित गरेको थियो ।
सम्मान हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै सम्मानित व्यक्तित्व श्रेष्ठले भौगोलिक अवस्थिति, हिमालय र अतिथि सत्कारको परम्परामा नेपाल र अस्ट्रियाबीच समानता रहे पनि आर्थिक विकासको सन्दर्भमा अस्ट्रियाले ठूलो प्रगति हासिल गरेको बताउनुभयो । आर्थिक समृद्धि हासिल गर्ने सन्दर्भमा नेपालले अस्ट्रियाबाट धेरै कुरा सिक्न सक्ने पनि उहाँले बताउनुभयो ।
पर्यटन, सुरुङ र हिमाली पूर्वाधार, जलविद्युत् तथा स्वच्छ ऊर्जा जस्ता क्षेत्रमा अस्ट्रियाबाट नेपालले धेरै अनुभव लिन सक्ने उहाँको भनाइ छ ।
सो अवसरमा श्रेष्ठले मित्रराष्ट्र अस्ट्रियाले नेपाललाई गरेको सहयोग, विशेष गरी सांस्कृतिक सम्पदाको पुनःनिर्माण र संरक्षणको क्षेत्रमा गरेको सहयोगको पनि स्मरण गर्नुभयो । ‘केशरमहलस्थित स्वप्न बगैंचा र पाटन संग्रहालय यसका ठोस उदाहरण हुन्,’ श्रेष्ठले भन्नुभयो, ‘कोभिड-१९ महामारीका बेला पनि मित्रराष्ट्र अस्ट्रियाले नेपाललाई उदारतापूर्वक सहयोग गरेको छ ।’ पछिल्लो सहायतामा अस्ट्रियाले नेपाललाई कोभिड-१९ को ४ लाख थान फाइजर खोप उपलब्ध गराएको छ । अस्ट्रियाले उपलब्ध गराएको खोप युरोपेली संघमार्फत संयुक्त राष्ट्रसंघको कोभ्याक्सअन्तर्गत नेपाललाई प्राप्त भएको हो ।
नेपाल र अस्ट्रियाबीच ६४ वर्ष पुरानो सुमधुर दौत्य सम्बन्धको इतिहास छ । आगामी दिनमा यो सम्बन्ध राजनीतिक, आर्थिक, सामाजिक र जनस्तरमा अझ बलियो बन्दै जाने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि अस्ट्रियाका राजदूत विजरले सन् २००७ मा लक्ष्मणबाबु श्रेष्ठ नेपालका लागि अस्ट्रियाका अवैतनिक दूत नियुक्त हुनुभएपछि अस्ट्रियाले उहाँले र पछि हालका अवैतनिक दूतबाट पाएको सहयोगको प्रशंसा गर्नुभयो । कोभिड-१९ महामारीका बेला अवैतनिक दूत श्रेष्ठले नेपालमा रहेका अस्ट्रियाका नागरिकलाई गरेको सहयोग अविस्मरणीय रहने पनि उहाँले बताउनुभयो ।
श्रेष्ठ मनकामना दर्शन प्रालिका प्रबन्ध निर्देशक हुनुहुन्छ ।